
पोखरा भ्यूज
२२ माघ, काठमाडौं । अन्ततः गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ ।
आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने सो पार्टीले बताएको छ ।
बैठकपछि आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले पनि डेलिभरी गर्ने मन्त्रालय नपाएपछि सरकार छाड्ने निर्णय गरेको बताए ।
उनले गृह, श्रम तथा रोजगार जस्ता काम गर्ने मन्त्रालय पाएपछि गएका हौं सरकारमा गएकोमा सर्वोच्च अदालतको फैसलापछि रास्वपाले आफ्नो भागमा परेको गृहमन्त्रालय नपाउँदा सरकार छाड्ने निर्णयमा पुगेको स्पष्ट पारे ।
रास्वापाले सरकारमा लामिछाने उपप्रधानमन्त्री तथा गृह, डीपी अर्याल श्रम, शिखिर खनाल शिक्षामन्त्री भएका थिए भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् ।
तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पदमुक्त भए । दुई दिनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री फर्किन हरप्रयास गरे पनि सफल भएनन् । र, अन्ततः सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गरे । उनले चितवन २ को उपनिर्वाचन भएर नतिजेसम्म गैरसासंद मन्त्री नबन्ने घोषणा पनि गरे ।
यद्यपि उनको राहदानी प्रकरणले उनको घोषणा घोषणामा मात्रै सीमिति रहने वा होइन, त्यो भने हेर्न बाँकी छ । यसैबीच रास्वपाका मन्त्रीहरुले आजै राजीनमा बुझाउने भएका छन् ।











