विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका हुन्।
आफूमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् र सरकारी कामकाज प्रभावित नहोस् भन्ने नैतिक आधार प्रस्तुत गर्दै गुरुङले पद त्यागेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन्।
“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले लेखेका छन्। उनले निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न तथा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले तत्काल पदबाट अलग भएको स्पष्ट पारे।
गुरुङले देशमा बढ्दो सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई उल्लेख गर्दै पछिल्लो समय उठेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताएका छन्। उनले सञ्चारकर्मी, नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आग्रह गरेका छन्।
गुरुङको राजीनामासँगै गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री शाहले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्री कार्यालयले केही समयभित्र यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।
उता, गुरुङको बहिर्गमनले सत्तारुढ दलभित्र नयाँ शक्ति सन्तुलनको बहस सुरु गराएको छ भने गृह मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा राजनीतिक रस्साकस्सी बढ्ने संकेत देखिएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी भित्रै आफ्नो साख जोगाउने चुनौती थपिएको विश्लेषण गरिएको छ।
विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी सार्वजनिक भएपछि गुरुङमाथि प्रश्न उठ्न थालेका थिए। सोही विषयलाई लिएर चौतर्फी दबाब बढ्दै जाँदा उनले अन्ततः नैतिक जिम्मेवारीस्वरूप पदबाट बाहिरिने निर्णय लिएका हुन्।





सम्बन्धित खवर














