
पोखरा भ्यूज
२८ माघ, काठमाडौं । आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि धावक राजन रोकायले पाएका छन् । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गरी उपाधि चुमेका हुन् ।
राजन त्रिभुवन आर्मी क्लबका हुन् । नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनको निर्धारित ४२.१९५ किलोमिटर दुरी पार गरी शीर्ष तीनमा आर्मीकै धावकहरुको अगाडि रहे ।
म्याराधनमा आर्मीकै खडकबहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गरी दोस्रो हुँदा अघिल्लो संस्करणका च्याम्पियन कृष्ण बस्नेत तेस्रो भए । उनले २ घण्टा २२ मिनेट २२ सेकेण्ड उक्त दुरी पार गरेका थिए ।
त्यस्तै हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै दीपक अधिकारी र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले उपाधि हात पारे । १३औं दक्षिण एसियाली खेलकुद सागका कांस्य विजेता दीपकले १ घण्टा ४ मिनेट ६ सेकेण्डसहित उपाधि जित्दा आर्मीकै मुकेश पाल १ घण्टा ४ मिनेट ५६ सेकेण्डको टाइमिङसहित उपविजेता बनेका हुन् ।
एक घण्टा ५ मिनेट १५ सेकेण्डमा दूरी पूरा गरेका बाग्लुङका तीर्थ पुन तेस्रो भए ।त्यसैगरी महिलातर्फको उपाधि जितेकी राजपूराले १ घण्टा १४ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गरिन् ।
१ घण्टा १९ मिनेट ३ सेकेण्डसहित आर्मीकी पूर्णलग्क्ष्मी न्यौपाने दोस्रो र १ घण्टा २१ मिनेट २९ सेकेण्डमा दूरी पूरा गरेकी आर्मीकै निर्मला केसी तेस्रो भइन् । सैनिक अधिकृत १० किलोमिटर दौडमा पुरुषतर्फ सुजन ऐडी र महिलातर्फ अस्मिता जिसीले उपाधि जिते ।











