
पोखरा भ्यूज
४ भदौ, बिराटनगर । अन्ततः कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मतसहित प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजी गरेका थिए । उनीहरुको नाराबाजीका बीच सभाध्यक्ष मन्सुरीले मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका थिए। प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ३ भदौमा विश्वासको मत लिन चाहेका थिए । तर उपसभामुख सृजना दनुवारले सोमबारका लागि बैठक राखिन् र बिहान उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरिन्।
त्यसअघि उनले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोकेकी थिइन् । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरे । र, मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव राखे । सत्तारुढ दलका साथै विपक्षी एमालेका नेताहरुको भनाईपछि मुख्यमन्त्री थापाले जवाफ दिए लगत्तै मन्सुरीले मतदान प्रक्रिया सुरु गरे ।
उनले मतदान सकिएपछि मत सच्याउन तीन मिनेट समय तोके । त्यसपछि अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न आग्रह गरे र, आफू मतदानका लागि गए ।
मन्सुरीले मतदान गरेको विरोधमा प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरे । तर मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्दै मत गणना गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए। मत गणनापछि उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।











