0Shares

पोखरा भ्यूज

पोखरा २८ असार। अविरल वर्षाका कारण कास्कीमा विभिन्न स्थानमा गएको पहिरोमा परी एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ । घटनामा दुई जना बेपत्ता भएको खबर छ ।

पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरुन्चौ तल्लाकोटमा बिहीबार राति करिब ११ः३० को समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर एकै परिवारका ७ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

सो घटनामा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, चितवन घर भएका ज्वार्इ २५ वर्षीय अस्मित परियार र तल्लाकोटकी ५६ वर्षिया राधिका परियारको ज्यान गएको कास्की प्रहरीले पुष्टि गरेको छ । मृतकमध्ये राधिका भने उद्दारमा खटिदाँ पुरिएर ज्यान गएको बताइएको छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदी रहेको प्रहरीले बताएको छ । घटनामा ११ वर्षीया अनुस्का ओझा बेपत्ता भएकी छन् ।

त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा ८० वर्षीया माइतीकुमारी गुरुङ छन् । एक जनालाई भने प्रहरीले सकुशल उद्दार गरेको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected