7Shares

एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान

पोखरा भ्यूज । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा नेपाल प्रथम बनेकी मदरल्याण्ड माविकी बिधार्थी सदीक्षा क्षेत्रीलाई नगद २ लाख रुपैयाँ सहित सम्मान गरिएको छ ।

कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएकी विद्यार्थीसहित यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ४ जिपिए ल्याउने विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको हो ।

एसइइमा ४ जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई सम्मान गरिएको हो ।  

विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यसवर्षको एसइइमा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । ती मध्ये १० जना मदरल्याण्ड माविका विद्यार्थी थिए । तिनै विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ र राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा नेपाल प्रथम बनेकी छात्रा सदीक्षा क्षेत्रीलाई नगद २ लाखरुपैयाँ सहित सम्मान गरिएको हो । सदीक्षाले ३.९६ जिपिए अंक ल्याएर नेपाल टप गरेकी थिईन ।

४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपागुरुङ, इक्वीटी पौडेल, अबिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी थिए । गण्डकी प्रदेश सरकारकासामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्राचार्य डा.नारायण बराल, राष्ट्रिय परीक्षा बोर्डगण्डकीका प्रमुख गोबिन्द पोखरेल, पोखरा–७ का अध्यक्ष राममोहन आचार्य लगायतले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।  

कार्यक्रममा मन्त्री थापाले कुनै पनि विद्यालय सफल हुनका लागि विद्यार्थीको उत्कृष्ट रिजल्टसँगै असल अभ्यासपनि जरुरी रहेको बताए । ‘विद्यालयमा अब केही फरक अभ्यास जरुरी छ । विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन, संस्कार, संस्कृति पनि सिकाउनुपर्छ,’ थापाले भने, ‘विद्यार्थीसँगै उनीहरुका अभिभावक पनि जोडिँदाअझ राम्रो परिणाम निस्कन्छ ।’  

मन्त्री थापाले विद्यार्थी अभावमा कतिपय सरकारी विद्यालय बन्द हुने अवस्था रहेको बताउँदै विद्यालयलाई उद्यमसँगै शिक्षासँग जोड्नुपर्ने बताए । ‘अब रोजगारीसँग पनि शिक्षा जोडौं । उच्च शिक्षाकै लागि ठूलो संख्यामा विद्यार्थीहरु विदेश पलायन हुँदा धनराशी पनि विदेशिएको छ,’ उनले भने । प्रदेश सरकारले विद्यार्थीको सिकाईमा नयाँपन ल्याउनका लागि ‘फ्राईडे फर फ्यूचर’ कार्यक्रम पनि शुरु गर्न थालेको जानकारी दिए । यो कार्यक्रम लागु भएपछि कक्षा १२ सम्मका विद्यार्थीले शुक्रबार पुस्तक बोकेर विद्यालय आउनुपर्ने छैन । ‘शुक्रबार अतिरिक्त सिकाई होस भनेर यो अभ्यास थालनी गरिएको हो,’ उनले भने ।  

विद्यालयका प्राचार्य बरालले मदरल्याण्ड माविले हरेक वर्ष उत्कृष्ट रिजल्ट हात पारेर उचाँइ बढाईरहेको बताए। ‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ ।अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएकोछ । आगामि दिनमा विद्यार्थीलाई किताबी ज्ञानसँगै रचनात्मक सीप दिलाउन लागिपर्नेछौं ।’  

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected