
पोखरा । कास्कीको तत्कालीन ढिकुरपोखरीमा रहेको माछापुछ्रे माध्यामिक विद्यालयबाट २०४७ सालमा एसएलसी दिने विद्यार्थीहरुले बृहत् भेलासहित बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।
माछापुछ्रे मावि एसएलसी ब्याची समूह–२०४७ ले आउँदो पुष महिनामा बृहत् भेला, बनभोजसहित दिवंगत समूहका सदस्यको परिवारलाई सम्मान गर्ने शनिवार पोखरा–२५, सुईखेतस्थित रिभर भ्याली रिसोर्टमा सम्पन्न एक भेलाले निर्णय गरेको समूहका संयोजक टंकराज अधिकारीले बताए ।
भेला सम्पन्न गर्नका लागि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ । समितिको सदस्यमा हरि केसी, गोविन्द पौडेल, विष्णुहरि शर्मा, गणेश प्रसाद अधिकारी, नारायणबहादुर कुँवर र विष्णु कुमारी पौडेल रहेका छन् ।
बृहत् भेला एवं बनभोज कार्यक्रममा दिवंगत हुनु भएका समूहका साथीको श्रीमान एवं श्रीमतीलाई सम्मान गर्ने भएको छ ।
त्यस्तै भेलाले समूहका सदस्य मध्ये कुनै सदस्य न्यून आय स्रोतका कारण दैनिक जिवनयापनमा कठिनाई भएको देख़िन या सुनिन आएका छन् भने प्रोत्साहन स्वरूप के कस्तो सहयोग गर्न सकिन्छ ? सो को अध्ययन गरी प्रस्ताव पेश गर्न समूहका सदस्य हरि केसीलाई ज़िम्मा दिने निर्णय समेत गरेको छ ।
समूहले यस अघि पूर्व शिक्षक सम्मान, आर्थिक सहायता लगाएतका रचनात्मक कार्य गरेको छ ।
भेलामा ३५ वर्षपछि यसरी भेट भएर एक अर्कालाई पढ्दै, नियाल्दै र त्यो बेलाको स्मरण गर्दै आफ्ना अनुभूति सुनाउन पाउँदा ख़ुशी लागेको वैदेशिक रोज़गारमा रहेकी हालै मात्र केही दिनको बिदामा नेपाल आएकी सकुन्तला भट्टचनले बताईन् । समूहले यस भन्दा अघि पनि भेला र भेटघाटसँगसगै समूहले गरेका रचनात्मक कार्यमा सहयोग गर्दै आए पनि साथीहरूलाई फ़ोटोमा मात्र देखेको, तर आज प्रत्यक्ष रूपमा भेट भई साथीहरुका अनुभव र अनुभूति सुन्न र सुनाउन पाउँदा नयाँ उमंग थपेको भट्टचनले बताईन् ।
तत्कालीन समय २०४७ सालमा एकै ब्याचबाट एसएलसी दिने ८८ जनामा ६ जना दिवंगत हुनु भएको छ भने करिव ७६ जना सम्पर्कमा आई सामाजिक संजालमा जोड़िई सक्नु भएको छ भने बाँकी जोड़िने क्रममा रहनु भएको समूहका संयोजक अधिकारीले बताए ।
कार्यक्रमको मुख्य उद्देश्य भर्खर भर्खर जवानीका रङ र अनेकन उमङ्ग चढ्दै गरेका सङ्गीसाथी छुट्टिएको ३५ वर्षपछि भेटिने साथी साथीबीच आत्मीयता बढाई आपसी सम्बन्ध विस्तार गर्ने, संस्कृति एवं परम्परा जगेर्ना गर्ने, अनुभव आदान–प्रदान तथा आउँदा दिनका योजनाहरूमा छलफल, सामूहिक सद्भाव मजबुत बनाउन सञ्जाल विस्तार गर्ने उद्देश्य रहेका छन् ।











