2Shares

पोखरा । पोखरा, नदीपुरस्थित नारायणस्थानमा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखाले विभिन्न धार्मिक तथा आध्यात्मिक अनुष्ठान गर्ने भएको छ।

गत असार २२ गतेदेखि चर्तुमास यज्ञ अनुष्ठानसँगै हिमालय सिद्ध महायोग ध्यान–साधना सञ्चालन गर्दै आएको प्रतिष्ठानले सोही क्रममा अन्य विविध कार्यक्रमहरू आयोजना गर्ने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माका अनुसार अनन्तश्री विभूषित श्रीमज्जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको प्रत्यक्ष उपस्थितिमा हरेक दिन बिहान ६ देखि ८ बजेसम्म ध्यान साधना भईरहेको छ। साथै दिनभर नवग्रह शान्ति, नाडी जाँच, आयुर्वेदिक उपचार, रुद्री पूजा तथा अपरान्ह ४ देखि ६ बजेसम्म सत्संग हुने जानकारी दिइयो।

चर्तुमास यज्ञअनुष्ठान अन्तर्गत सोह्र श्राद्धमा पितृयज्ञ, दशैंको अवसरमा नवदुर्गा यज्ञ तथा दीपावलीमा लक्ष्मी यज्ञ आयोजना हुने भएको छ। एकै स्थानमा यी तीनवटा महत्वपूर्ण यज्ञ विरलै हुने भएकाले विशेष अवसरको रुपमा लिइएको आयोजकको भनाइ छ।

पत्रकार भेटघाट कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईले भौतिक विकाससँगै आध्यात्मिक चिन्तन र सनातन संस्कारमा ह्रास भई समाजमा दिगो शान्ति स्थापना हुन नसकेको उल्लेख गर्दै आत्मवोध, योग र आध्यात्मिक अभ्यासकै माध्यमबाट समाजमा शुद्धता, तन्दुरुस्ती र दिगो समृद्धि सम्भव हुने बताए।

२०७२ सालमा विना अक्सिजन नौ दिनसम्म बन्द बाकसमा समाधि ग्रहण गरी वैज्ञानिक जगतलाई चुनौती दिएका सिद्धबाबाको अभियान अन्तर्गत ध्यान–साधना, शक्तिपात महादिक्षा र कुण्डलिनी शक्ति जागरण नै रोग–कष्ट निवारण, अजपा–जप, अनहद नाद श्रवण र ब्रह्मानन्दको रसास्वादन गर्ने एकमात्र मार्ग भएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रम अनुसार सोह्र श्राद्धको अवसरमा भाद्र २२ देखि असोज ५ गतेसम्म पितृयज्ञ हुने छ। बराहक्षेत्रका पण्डित योगेश भण्डारीबाट गरुड पुराण, बराह पुराण तथा भानुभक्त रामायणको प्रवचन गरिने नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले जानकारी दिए।

यस्तै, दशैंको अवसरमा असोज ६ देखि १५ गतेसम्म सहस्रचण्डी महायज्ञ र त्यसपछि दीपावलीमा असोज ३१ देखि कार्तिक ४ गतेसम्म श्रीविद्या एवम् श्रीमहालक्ष्मी महायज्ञ आयोजना गरिनेछ। बिहान ९ देखि १२ बजेसम्म यज्ञ तथा अपरान्ह ४ देखि ६ बजेसम्म सत्संग सञ्चालन हुनेछ।

गुरुकृपा, पितृकृपा, दुर्गाकृपा र महालक्ष्मीको दिव्य कृपा एकैसाथ प्राप्त गर्ने यो दुर्लभ अवसरमा सहभागी भई पुण्यलाभ लिन सबैमा आह्वान गरिएको छ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected