
अन्नपुर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा सोमबार अष्ट्रेलियाली संस्था वाइल्डर्नेस कम्युनिटी (Wilderness in Nepal) को सहयोगमा २६ लाख रुपैयाँ मूल्यको अत्याधुनिक एम्बुलेन्स अन्नपुर्ण गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। यस एम्बुलेन्सले दुर्गम गाउँमा आपतकालीन स्वास्थ्य सेवा छिटो र प्रभावकारी रूपमा पुगोस् भन्ने उद्देश्य राखिएको छ।
श्री बहादुरे माध्यमिक बिधालय परिसरमा आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अष्ट्रेलियाली सहयोगी संस्था प्रति आभार व्यक्त गर्दै भने, “२६ लाख रुपैयाँ बराबरको यो एम्बुलेन्स हाम्रो गाउँको स्वास्थ्य पूर्वाधारमा ठूलो उपलब्धि हो।” उनका अनुसार, एम्बुलेन्स गाउँपालिकाले स्वयं सञ्चालन गर्नेछ र यसको सबै खर्च गाउँपालिकाले नै बेहोर्नेछ। विगत दुई दशकदेखि यस संस्थाले यस विद्यालय र स्वास्थ्य क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको उनले स्मरण गरे।

अध्यक्ष केसीले वाइल्डर्नेस कम्युनिटीसँग भविष्यमा सरसफाइ, फोहर व्यवस्थापन र स्वास्थ्य विस्तारका क्षेत्रमा, विशेषगरी भर्खर मात्र संचालनमा आएको अन्नपुर्ण आधारभूत अस्पतालको लागि एक्सरे मेसिन स्थापना जस्ता पहलमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा स्थानीयवासीहरूले यो सहयोगले ग्रामीण जीवनस्तरमा ठुलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
वाइल्डर्नेस कम्युनिटीकी प्रमुख डा. श्याली नब्सले एम्बुलेन्स हस्तान्तरण गर्दै भनिन्, “हामीले यो एम्बुलेन्स केवल सहयोगको रूपमा होइन, मानवीय सम्बन्धको प्रतीकको रूपमा दिएका हौं। भदौरे र अन्नपूर्ण गाउँपालिकाका जनतासँग हाम्रो आत्मीय सम्बन्ध गहिरो छ र यस सानो प्रयासले धेरैको जीवन बचाउनेछ भन्ने हाम्रो विश्वास छ।” उनले थपिन्, संस्था सन् १९९८ देखि शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।

उनका अनुसार, सन् २००५ देखि महिला शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिँदै विद्यालयहरूको सहयोग सुरु गरिएको हो। संस्था बालबालिकाको पढाइ–लेखाइमा पहुँच बढाउने, महिला सशक्तीकरण र सामुदायिक स्वास्थ्य सुधारमा केन्द्रित रहँदै आएको छ। आगामी दिनमा पनि वाइल्डर्नेस कम्युनिटीले ग्रामीण क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने थप परियोजना अघि बढाउने योजना सार्वजनिक गरेको छ।
भदौरे माध्यमिक विद्यालयमा यी संस्थाहरूको सहयोगमा सयौँ विद्यार्थी निःशुल्क अध्ययनरत छन्। विपन्न र अभिभावकविहीन बालिकाहरूका लागि विद्यालयमा आवास सुविधा उपलब्ध छ भने हाल १२ जना छात्रा बोर्डिङ हाउसमा अध्ययनरत छन्। साथै, हरेक वर्ष कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई १०० अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

विद्यालयका पूर्वप्रधानाध्यापक रामप्रसाद पौडेलले भने, “यो एम्बुलेन्स हाम्रो गाउँको आशा र सहकार्यको प्रतीक हो। वाइल्डर्नेस कम्युनिटीको सहयोगले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा नयाँ ऊर्जा भरेको छ।” गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले भने, “अब यो गाडी होइन, जीवनरक्षाको साधन हो। गाउँपालिकाले यसलाई नियमित स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य परीक्षण र आपतकालीन उद्धारमा प्रयोग गर्ने योजना बनाएको छ।”
समारोहमा विद्यार्थीहरूले राष्ट्रिय गानसहित स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, महिला समूह, स्थानीय बासिन्दा तथा अष्ट्रेलियाली अतिथिहरूको सहभागिता रहेको थियो।

अन्नपुर्ण गाउँपालिका-४ का वडाध्यक्ष आइन्दल गुरुङको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम बिधालयक प्रधानाध्यापक सिद्धिराज सुबेदीले गरेका थिए।











