२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पोखरा निजी क्षेत्रको चेतावनी : ‘अपराधीलाई उन्मुक्ति दिनु देशका लागि खतरा’

पोखरा, २२ असोज। पोखराको निजी क्षेत्रले हालै सम्पन्न जेन–जी आन्दोलनका नाममा भएका तोडफोड, आगजनी र लुटपाट घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारले दण्डहीनताको अन्त्य गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ। साथै आगामी फागुन २१ मा तय भएको निर्वाचन सुनिश्चित गरी मुलुकमा स्थिरता, सुशासन र लगानी अनुकूल वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी/व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले अराजकता र निषेधको राजनीतिबाट देशलाई मुक्त गर्नुपर्ने धारणा राखे।

संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी आन्दोलनका नाममा उद्योगी–व्यवसायीहरूलाई अपराधी झैँ व्यवहार गरिएको भन्दै ‘व्यवसाय गरेर कर तिर्नु, रोजगारी सिर्जना गर्नु र लगानी गर्नु अपराध होइन’ भन्दै आपत्ति जनाए। उनले भने, ‘के रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना गर्नु र राज्यलाई कर तिर्नु अपराध हो? विद्वानमा ज्ञानआर्जन र व्यवसायीमा नाफाको भोक जाग्नु अपराध हो?’

उनले जेन–जी आन्दोलनका वैचारिक मागहरूसँग निजी क्षेत्र सहमत भए पनि आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडलाई भने आपराधिक गतिविधि भन्दै निन्दा गरे। उनका अनुसार अपराधलाई ‘क्रान्तिको लेपन’ लगाउने प्रवृत्तिले समाजमा अराजकता निम्त्याएको छ र यसले लगानी वातावरण तहसनहस गरेको छ।

अध्यक्ष कार्कीले पोखरामात्र होइन, देशभरै निजी क्षेत्रका संरचनामाथि आक्रमण हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनका अनुसार आन्दोलनका क्रममा पोखरामै ४२ भन्दा बढी व्यवसायिक प्रतिष्ठानमा तीन अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। उनले सरकारसँग क्षतिपूर्तिको व्यवस्था र अपराधीमाथि कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गरे।

उनले थपे, ‘हामी राज्यलाई कर तिर्ने नागरिक हौं, यो देश हाम्रो पनि हो। अपराध गर्नेले दण्ड पाउनैपर्छ, अपराधीलाई उन्मुक्ति दिने प्रवृत्ति रोक्नैपर्छ।’

कार्यक्रमका प्रमुख वक्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले हालको राजनीतिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्र आत्मकेन्द्रित र एकाङ्की बनेको आत्मसमीक्षा गर्नुपर्ने बताए। उनका अनुसार निजी क्षेत्रले सुविधा र छुटमा बढी केन्द्रित भई राष्ट्रका चुनौतीहरूबारे पर्याप्त रूपमा आवाज नउठाएकै कारण पछिल्लो आक्रमणको मनोवृत्ति बलियो भएको हो।

मुल्मीले भने, ‘हामी सबै विदेशी स्वार्थको भूमरीमा परेका छौं। राजनीतिक दल, कर्मचारीतन्त्र, निजी क्षेत्र सबैलेआत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।’ उनले नेपाललाई विदेशी शक्तिहरू—भारत, चीन, अमेरिका र युरोपेली संघ—ले आफ्नो ‘सुरक्षा रणनीतिक प्रयोगशाला’ बनाउँदै आएको आरोप लगाए।

उनले चेतावनी दिंदै भने, ‘जेन–जी आन्दोलनपछि उत्पादन र वितरण प्रणाली नै टुटेको छ। अहिलेका आर्थिकचुनौती समाधान गर्न नसके मुलुक अराजकतामा जान सक्छ।’ उनका अनुसार अब देशलाई स्थायित्वमा लैजाने एकमात्र बाटो फागुन २१ को चुनाव सफलतापूर्वक सम्पन्न गर्नु हो।

मुल्मीले निषेध र प्रतिशोधको राजनीति अन्त्य गर्न आग्रह गर्दै भने, ‘अहिलेको अवस्था मुठभेडतर्फ धकेलिँदै छ।एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ। यो प्रवृत्ति रोकिनुपर्छ, नत्र देश फेरि द्वन्द्वतर्फ जान सक्छ।’

कार्यक्रममा होटल सरोवरका सञ्चालक प्रतिकराज पहारीले आफ्नो होटलमा भएको तोडफोड र आगजनीको घटनाबारे भावनात्मक रूपमा विवरण प्रस्तुत गर्दै न्यायको माग गरे। उनका अनुसार जेन–जीको नाममा आएको आपराधिक समूहले होटलमा पेट्रोल छर्की आगो लगाएको थियो, जसमा पाहुनाका झण्डै ५० लाख रुपैयाँ बराबरका सामान जलेका थिए। उनले भने, ‘भवन त जल्यो, तर त्यसभन्दा ठूलो डर उद्यम गर्ने सोच नै जलाइयोकि भन्ने छ।’

पहारीले स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने यस्तो वातावरण खतरनाक रहेको बताए। उनले भनाइमा जोड दिए, ‘हामी विदेशी लगानीकर्तालाई स्वागत गर्छौं, तर स्वदेशी उद्यमीहरूलाई डराएर देश कसरी विकास हुन्छ? अराजकता र अन्यायले विकास मार्छ, अपराधीले सजाय पाउनैपर्छ।’

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, र कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङलगायतले समेत बोल्दै आन्दोलनका नाममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कानूनी दायरामा ल्याउन जोड दिए।

वक्ताहरूले नयाँ सरकारले शान्ति, स्थायित्व र लगानीमैत्री वातावरण निर्माणको दिशामा ठोस कदम चाल्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार अराजकता थेग्न निजी क्षेत्र सक्षम छैन र लगानीका लागि शान्ति–सुव्यवस्था पहिलो सर्त हो।

कार्यक्रमको सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन्। अन्त्यमा अध्यक्ष कार्कीले संचारकर्मीहरूलाई व्यवसायीहरूको मनोबल उकास्न र ‘पैसा कमाउनु अपराध होइन’ भन्ने सन्देश देशभर फैलाउन आग्रह गर्दै सबैलाई संयमित र एकताबद्ध रहन आह्वान गरे।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…