२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

श्री परशु शैक्षिक प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न : शैक्षिक गुणस्तर अभिवृद्धि र अक्षयकोषमा योगदानका प्रतिबद्धता

अन्नपुर्ण, कास्की।  अन्नपूर्ण गाउँपालिका–१ कास्कीस्थित श्री परशु शैक्षिक प्रतिष्ठानको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। २०७९ साल माघ २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई २०८० असोज २९ गते आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (PAN) प्राप्त गरेको यस प्रतिष्ठानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयको ऐतिहासिक अभिलेख संकलन गरी स्मारिका प्रकाशन गर्ने लगायतका उद्देश्यसहित क्रियाशील रहँदै आएको छ।

श्री परशु आधारभूत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र स्थायी स्रोत विकासका लागि प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको छ। प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारीको चौरासीपूजाको अवसरमा अधिकारी परिवारबाट रु ५ लाख दिने घोषणा गरिएको थियो। अक्षयकोषमा रु १ करोड पुर्‍याउने लक्ष्यअनुसार हालसम्म रु ८ लाख ७४ हजार रुपैयाँ संस्थाको मुद्दती खातामा जम्मा भएको प्रतिष्ठानले जनाएको छ।

अक्षयकोषका लागि विद्यालयका ३५ जना पूर्वशिक्षक, विद्यार्थी तथा अभिभावकहरूले आजीवन सदस्यता लिएर रकम प्रदान गरेका छन्। यस्तै, थप १२ जना महानुभावबाट झण्डै तीन लाख रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको पनि जानकारी दिइयो। साथै, प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारीको कविता सङ्ग्रह ‘आत्मानुभव’ को बिक्रीबाट प्राप्त रु १०,१५० पनि अक्षयकोष प्रयोजनार्थ बैंक खातामा जम्मा गरिएको छ।

दोस्रो साधारण सभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद अधिकारीले गरेका थिए । उपाध्यक्ष सँगिता नेपालीले अतिथिहरूलाई स्वागत तथा सचिव तथा निबर्तमान प्रधानाध्यापक कलाधार भुङ्गाईले कार्यक्रम सञ्चालन गरेका थिए।  विद्यालयका प्रधानाध्यापक हरी भुङ्गाईले विद्यालयको हालको अवस्था र गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारीले आर्थिक प्रतिवेदन तथा आगामी योजनाहरू सभामा पेश गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। साथै, उनले राखेका केही प्रस्तावहरूलाई पनि सभाले अनुमोदन गर्दै प्रतिष्ठानका उद्देश्यअनुरूप दुईवटा समितिहरू गठन गर्ने निर्णय गरियो।

सभाले ‘श्री परशु प्रा.वि.को स्थापना कालदेखीका अभिलेख संकलन तथा स्मारिका प्रकाशन समिति’ गठन गर्ने निर्णय गर्दै पूर्व शिक्षक महेन्द्र बहादुर कुँवरलाई संयोजक तोकेको छ। पाँचदेखि सात सदस्यीय समिती गठनका लागि  पूर्ण अधिकारसमेत प्रदान गरिएको छ।

त्यसैगरी, ‘पूर्व विद्यार्थी मञ्च गठन समिति’ का संयोजकका रूपमा राजेन्द्र अधिकारीलाई तोकिएको छ। मञ्चको सदस्यता वितरण, समिती विस्तार र अन्य आवश्यक कार्यका लागि उहाँलाई सशक्त अधिकार प्रदान गरिएको छ।

विद्यालय स्थापना कालदेखीका सम्पूर्ण विद्यार्थीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले मञ्चको सदस्यता शुल्क रु १०० भन्दा बढी नहुने प्रस्ताव सभाले अनुमोदन गरेको छ। यस निर्णयले मञ्चमा सबै पूर्वविद्यार्थीको सहज सहभागिता सुनिश्चित हुने अपेक्षा गरिएको छ।

सभामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षक तालिम, गोष्ठी र विद्यार्थीलाई विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा सहभागी गराउने विषयमा समेत विस्तृत छलफल भएको थियो। कार्यक्रममा पूर्व प्रधानाध्यापक कृष्ण बहादुर कुँवर (ए), गम बहादुर कुँवर, राजकुमार कुँवर, राजेन्द्र अधिकारी, खिम प्रसाद भुङ्गाई र गायत्री पराजुली (अधिकारी) लगायतले प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सभामा सहभागी वक्ताहरूले ‘कुराले होइन, कामले इमानदार बनौं’ भन्ने सन्देश दिँदै आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रतिष्ठानले सामूहिक प्रतिबद्धता र पारदर्शी कार्यमार्फत विद्यालयको शैक्षिक स्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…