एमाले अध्यक्ष ओलीको प्रश्न– ‘हतियार र कैदी छाडेर नेतालाई थुनेर कसरी हुन्छ निर्वाचन?’
- October 19, 2025
- 1359

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थितिमा आगामी निर्वाचन सम्भव नदेखिएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले हतियार, गोली र कैदीबन्दीबारे गम्भीर प्रश्न उठाउँदै निर्वाचनको वातावरण नबनेको दाबी गरे।
ओलीले जेनजी आन्दोलनका क्रममा १२ हजार हतियार र एक लाख गोली लुटिएको दाबी गर्दै सुरक्षा प्रत्याभूति नै कमजोर भएको बताएका छन्। ‘१२ हजार हतियार, एक लाख गोली, १३–१४ हजार कैदी जेलबाट भगाएर अनि नेताहरूलाई थुन्न खोजेर कसरी हुन्छ निर्वाचन?’ उनले प्रश्न गरे।
उनले आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्नुभन्दा पनि आफूलाई थुन्ने योजना बनाइएको आरोप लगाए। ओलीका अनुसार सरकारले आयोगको नाममा उनलाई फसाउने रणनीति बनाएको छ। ‘शान्तिपूर्ण आन्दोलनमा कसको घर कहाँ छ भनेर योजना बनाउने को हो भनेर खोज्नु छैन, तर केपी ओलीलाई थुन्ने योजना छ,’ उनले भने।
पूर्वप्रधानमन्त्री ओलीले आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको दाबी गर्दै आफूलाई थुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। ‘सधैं मस्तिष्कले काम गर्छु, मनले होइन, त्यसैले सितिमिति गल्ती गर्दिन,’ उनले भने।
अध्यक्ष ओलीले आफ्नोसहित शंका लागेकाहरूको सम्पत्ति निष्पक्ष छानबिन गर्न माग गरे। उनले आफू एक पैसा पनि भ्रष्टाचारमा संलग्न नभएको उल्लेख गर्दै भने, ‘ए बाबा, तपाईंहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न। अरूको सक्नुहुन्न भने केपी ओली एउटाको मात्रै गर्नुस्।’
उनले आफूमा अहंकार नभएको तर सत्य बोल्ने बानीका कारण गलत बुझिने गरेको बताए। ‘यो मेरो अहंकार होइन, म सत्य बोल्छु,’ ओलीले भने। उनले देश र जनताप्रति आफू बफादार भएको भन्दै सत्य बोल्नेलाई अहंकारी भन्ने प्रवृत्तिप्रति आपत्ति जनाए।
जेनजी आन्दोलनका सहभागीहरू भ्रममा परेका युवाहरू भएको ओलीको दाबी छ। आन्दोलनको लक्ष्य प्रधानमन्त्रीको राजीनामा नभएको उनले उल्लेख गरे। ‘त्यो आन्दोलन भ्रममा पारिएका युवाहरूको थियो, त्यसको राजनीतिक उद्देश्य अस्पष्ट छ,’ उनले भने।
संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने भन्दै ओलीले हालको संवैधानिक व्यवस्थामाथि प्रश्न उठाए। ‘पूर्वप्रधानन्यायाधीशले संविधान पढ्नुभएको होला। उहाँ प्रधानमन्त्री बन्न मिल्छ?’ उनले प्रश्न गरे।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य उपचारका कारण कार्यवाहक तोकिएको प्रसङ्ग उठाउँदै भने, ‘म त स्वस्थ छु, कार्यवाहक किन चाहिन्छ? पाँच फिटका पोथ्रा नाघेर हिँड्छु, कार्यवाहक दिनुपर्ने कारण के हो?’
अध्यक्ष ओलीले पार्टीभित्र अझै पनि आफूलाई “क्याप्टेन” नछाड्न आग्रह भइरहेको बताए। ‘क्याप्टेनले छोड्यो भने अर्को आउँछ, तर टिमले मलाई नै रहनुपर्छ भनेको छ,’ उनले हाँस्यात्मक शैलीमा भने।
संसद पुनःस्थापना अब सम्भव नभएको दाबी गर्दै ओलीले असंवैधानिक ढंगले अधिकार प्रयोग गरेर संसद विघटन गरिएको आरोप लगाए। ‘असंवैधानिक रूपमा विघटन गरिएको संसद पुनःस्थापना गर्ने अर्को बाटो छैन,’ उनले भने।
अन्त्यमा ओलीले सरकारप्रति असन्तुष्टि जनाउँदै आफ्नो सुरक्षा फिर्ता लिइएको आरोप पनि लगाए। ओलीले सरकारको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न गर्दै भने, ‘मेयरको सुरक्षा बढाउँछ, वडाध्यक्षको बढाउँछ, आफ्नो मान्छेहरूको बढाउँछ।’




























