
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एक दिनमै पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पुष्टि भएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौंस्थित आफ्नै निवासमा खड्का सोमबार सार्वजनिक भएका हुन्।
गृहमन्त्री अर्यालले एक दैनिक पत्रिकासँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए। उनले ठूला नेतामाथि छानबिन सुरु भएको र कतिपय नेताहरू भागिसकेका वा भाग्ने तयारीमा रहेको बताएका थिए। “तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्। उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी कानुनी प्रावधानबारे अध्ययन भइरहेका छन्,” मन्त्री अर्यालको भनाइ उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको थियो।
तर, खड्का सोमबार दिउँसो आफ्नै निवासमा भएका हुन्। उनले आफू देशभित्रै रहेको र आन्दोलनका कारण भएको क्षतिपछि पनि आम नागरिकसँगै रहेको बताएका छन्। “म कतै गएको छैन। यहाँ, आफ्नै घरमा छु। आगलागीले सबै कुरा नष्ट भयो, तर म भाग्ने मान्छे होइन,” खड्काले भनेका छन्।
जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिएका हुन् । उनी हाल सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा छन् , जहाँ विदेशी तथा स्वदेशी लाखौं रुपैयाँ घरमा राखिएको आरोपको छानबिन भइरहेको छ।
तर, खड्काले यस्ता सबै आरोपको खण्डन गर्दै दशैंका लागि साटेर राखिएको २० र ५० रुपैयाँका नोटहरू जलाएर योजनाबद्धरूपमा आफ्नो चरित्र हत्या गरिएको दाबी गरेका छन् । उनले आन्दोलनको दिन आफ्नै घरमा रहेको पनि स्पष्ट पारे ।
नेपाली कांग्रेसका नेतासमेत रहेका खड्काले आफूविरुद्ध गरिएको गलत प्रचारको खण्डन गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। “मसँग दुई–चार लाख रुपैयाँ नहुन सक्छ भनेर कसैले विश्वास गर्दैन,” भन्दै उनले आफू राजनीतिको लागि व्यवसायमा लागेको, तर भ्रष्टाचारविरुद्ध अडिग रहेको बताए ।
घरमा आगलागी भएपछि मानसिक तनावमा परेका परिवारसहित तराई गएको बताएका छन् । तर, डेंगु संक्रमण भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिनसम्म उपचारमा बसेको उनले जानकारी दिए । त्यही क्रममा केही राजनीतिक भेटघाटहरू भएको स्वीकार गरे पनि आफू सिंगापुर नगएको उनले स्पष्ट पारे ।
पटक–पटक राजनीतिक संघर्षमा जेल परिसकेका खड्काले पछिल्लो घटनाले आफू विचलित नहुने बताउँदै देशप्रति धैर्य राख्न जनतालाई आग्रह गरे। साथै, सधैं जनताको सुख–दुखमा साथ रहने प्रतिबद्धता गरेका छन् ।











