
काठमाडौं । नेपाली कांग्रेसभित्र बिशेष महाधिवेशनको माग चर्किँदै गएपछि पार्टीका नेता डा. शेखर कोइरालासँग हस्ताक्षरकर्ता नेताहरूले भेटघाट गरी विस्तृत छलफल गरेका छन्। बिशेष महाधिवेशनका मागकर्ता नेताहरू देवराज चालिसे, गुरुराज घिमिरेलगायतका नेताहरू सोमबार बिहान नेता कोइरालासँग भेट्न पुगेका हुन्। भेटमा उनीहरूले पार्टीभित्र उत्पन्न परिस्थिति, आन्तरिक असन्तुष्टि र संगठनको आगामी बाटोबारे खुला संवाद गरेका छन्।
छलफलका क्रममा डा. कोइरालाले चार वर्षे समयसीमा भित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने वा त्यसको विकल्पका रूपमा केन्द्रीय समितिको आव्हानमा बिशेष महाधिवेशन गर्नुपर्ने धारणा प्रस्तुत गरेका थिए । उनले भने, “महाधिवेशनका लागि तत्काल एउटै कार्यतालिका बनाऔं, बिशेष महाधिवेशनबाट समयसापेक्ष नीति र नेतृत्व तय गरौं — यही अहिलेको एकमात्र बाटो हो।”
बैठकमा सहभागी नेताहरूले पनि नेपाली कांग्रेसले विगतमा जस्तै राजनीतिक उतारचढावका बेला सुझबुझ र परिपक्वता देखाउँदै राष्ट्र र जनतामाझ विश्वास पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। नेता चालिसेले भने, “कांग्रेसले बारम्बार पाएको जनविश्वास तोड्दै आएको तथ्य हामी स्वीकार गर्छौं। अब गल्ती दोहोर्याउने ठाउँ छैन। पार्टीलाई ठोस निर्णय र नयाँ दिशाको आवश्यकता छ।”
नेताहरूले हालै दुई दिनमै बहुमतको सरकार ढल्नु र संसद् विघटन हुनुको अर्थ सबैले बुझिसकेको बताउँदै कांग्रेसले राजनीतिक अनिश्चितता अन्त्य गर्न अग्रसर भूमिका लिनुपर्नेमा जोड दिए। उनीहरूले थपे, “समयको दबाब, नागरिकको भावना र संगठनको अवस्था हामी सबैले देखिरहेका छौं। अब ढिलाइ होइन, निर्णय चाहिन्छ। १५औं महाधिवेशन मंसिरभित्र गरौं, नत्र बिशेष महाधिवेशनले पर्खिरहेको छ।”
छलफलपछि सहभागी नेताहरूबीच ‘पार्टी एकता, संगठन पुनर्संरचना र समयसापेक्ष नीति निर्धारण’ लाई प्राथमिकतामा राख्दै संयुक्त पहल अघि बढाउने सहमति भएको बताइएको छ।











