12Shares

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन गइरहनु भएको हो।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले विदाई गरे। सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ। साथै, उहाँले सम्मेलनकै क्रममा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको यो सम्मेलनमा विकासमा बढ्दो असमानता, जनसङ्ख्यागत असन्तुलन र प्रविधिको सामाजिक प्रभाव जस्ता विषयमा छलफल हुने बताइएको छ। यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो।

संयुक्त राष्ट्रसंघमा सन् १९५५ मा सदस्यता हासिल गरेपछि नेपालले विश्व शान्ति, स्थायित्व र सामाजिक विकासका लागि निरन्तर योगदान गर्दै आएको छ। हाल नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्ष राष्ट्र हो।

राष्ट्रपति पौडेलले कतार भ्रमण सम्पन्न गरी कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected