134Shares

भरतपुर, चितवन । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले लायन वर्ष २०२५/०२६ को पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सेवा, सदस्यता वृद्धि र स्थायी परियोजनाका क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको बताएका छन्। “Together We Make Change” (हाम्रो सानो कदमले ठूलो परिवर्तन सम्भव छ) भन्ने मूल नारासहित कार्यकाल प्रारम्भ गरेका गभर्नर सापकोटाले पहिलो चौमासिक अवधिमा कुल ६२ प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिएका छन्।

गभर्नर सापकोटाका अनुसार सामूहिक प्रयास, सहकार्य र दिगो सामाजिक परिवर्तनमा केन्द्रित योजनाले लायन्स आन्दोलनलाई अझ प्रभावकारी बनाएको छ। पहिलो चौमासिकमा लायन्स क्लबहरूले २,१४५ वटा सेवा कार्यक्रम सम्पन्न गरेका छन्। ती सेवाबाट १,९८,५२६ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् भने लायन्स सदस्यहरूले ७६,०८० घण्टा स्वयंसेवा प्रदान गरेका छन्। सेवाका प्राथमिक क्षेत्रमा मानवीय सहायता, भोकमरी निवारण, वातावरण संरक्षण, मधुमेह नियन्त्रण, बाल क्यान्सर, मानसिक स्वास्थ्य, प्राकृतिक प्रकोप राहत, रक्तदान र नेतृत्व विकास रहेका छन्।

भदौ २३ र २४ गतेको जेन्जि आन्दोलनका क्रममा चितवनका सरकारी कार्यालयहरूमा आगलागी भई सेवामा अवरोध आएपछि, डिष्ट्रिक्टले जिल्ला प्रशासन कार्यालय, भरतपुरलाई १५ कम्प्युटर, ३ स्क्यानर र २ प्रिन्टर हस्तान्तरण गरी सेवा पुनः सञ्चालनमा सहयोग पुर्‍याएको थियो। त्यस्तै, कात्तिक १ गते लायन्स अन्तर्राष्ट्रियको सहयोगमा ४०० परिवारका करिब १,६०० प्रभावित व्यक्तिहरूलाई राहत वितरण गरिएको थियो।

संगठन सुदृढीकरणका क्रममा यस चौमासिकमा २० नयाँ क्लब गठन भएका छन्। सदस्यता वृद्धि अभियानअन्तर्गत लक्ष्य १,३२५ मध्ये ८१३ नयाँ सदस्य थप भई ६२ प्रतिशत प्रगति हासिल भएको गभर्नर सापकोटाले उल्लेख गरे।

डिष्ट्रिक्टले यस अवधिमा लायन्स अन्तर्राष्ट्रियको सहकार्यमा दुई वटा मेगा सेवा परियोजना कार्यान्वयनमा ल्याएको छ।  थासी कम्युनिटी अस्पताल, ललितपुरमा मधुमेह सचेतना कार्यक्रम (लागत रु. ५० लाख) र राप्ति नगरपालिका, ब्रह्मनगरमा स्मार्ट क्यान्टिन सञ्चालन तथा भवन निर्माण (लागत रु. १,५०,०००) रहेका छन्।

यस्तै, आगामी जनवरीमा स्वीकृति प्रक्रियामा रहेका स्थायी परियोजनामध्ये—रत्ननगर अस्पताल, बकुलहरमा डायलसिस वार्ड सञ्चालन (रु. १,५०,०००), जनज्योति माध्यमिक विद्यालय, अमृतनगरमा भवन निर्माण (रु. १,५०,०००) र भरतपुर आँखा अस्पतालका लागि रु. ४,५०,००० बराबरका उपकरण खरिद योजना रहेका छन्।

संगठनको दीर्घकालीन स्थायित्व र सेवा सशक्तीकरणका लागि “हामी हाम्रो प्रशासनिक भवन” अभियानअन्तर्गत करीब रु. २ करोड लागतको भवन निर्माण शिलान्यास गरिएको गभर्नर सापकोटाले जानकारी दिए। “हाम्रो सानो कदमले ठूलो परिवर्तन सम्भव छ। यो उपलब्धि सामूहिक प्रयास, प्रतिबद्धता र सेवा भावनाको प्रतिफल हो।” सापकोटाले भने।

134Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected