२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

कास्की कांग्रेसले पठायो नाम, क्षेत्र भन्छ— ‘सिफारिस नै गरेका छैनौँ’

पोखरा । नेपाली कांग्रेस यतिबेला प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गर्ने प्रक्रियामा जुटेको छ।

यसैबीच कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका आकाङ्क्षीहरूको नामलाई लिएर विवाद उत्पन्न भएको छ। क्षेत्रीय समितिले जिल्लालाई सिफारिस नै नगरेका व्यक्तिहरूको नाम जिल्लाबाट प्रदेश समितिमा पठाइएको भन्दै आपत्ति जनाएको हो।

क्षेत्रीय समितिका अनुसार आकाङ्क्षीको नाम सङ्कलन गर्दा प्रत्यक्षतर्फ १२ जना र समानुपातिकतर्फ ८ जनाले आवेदन दिएका थिए। केन्द्रको परिपत्रअनुसार प्रत्यक्षतर्फ तीन जनाको नाम मात्रै सिफारिस गर्न आन्तरिक छलफल भइरहेको अवस्थामा जिल्ला सभापतिले छलफल टुङ्गिनुअघि नै नाम सिफारिस गरेको क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले बताए।

क्षेत्रीय कार्यसमितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सभापतिले एकलौटी रूपमा उम्मेदवारको नामावली माथिल्लो निकायमा पठाएको भन्दै विरोध जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कास्की क्षेत्र नम्बर १ को कार्यसमिति मंसिर २१ गतेदेखि निरन्तर छलफलमा जुटी उम्मेदवार छनोट प्रक्रियामा छ। यस्तो अवस्थामा विधान विपरीत जिल्ला सभापतिले आफूखुसी नामावली गण्डकी प्रदेश समितिमा पेस गरेको भन्ने जानकारी प्राप्त भएको छ।’

क्षेत्रीय समितिले नेपाली कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि नाम सङ्कलन र सिफारिस गर्ने अधिकार स्पष्ट रूपमा क्षेत्रीय समितिलाई मात्रै रहेको जिकिर गरेको छ।

‘क्षेत्र नम्बर १ बाट कुनै पनि नाम सिफारिस नगरी माथिल्लो निकायमा मनोमानी ढङ्गले नाम पेस गरिएकोप्रति खेद व्यक्त गर्दै जिल्ला सभापतिको सिफारिस अवैध रहेको प्रस्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

केन्द्रको परिपत्रअनुसार सहमति र सहकार्यको वातावरण बनाउन छलफल चलिरहेकै बेला जिल्ला सभापतिबाट गरिएको यस्तो कदमले पार्टीलाई अपूरणीय क्षति पुग्ने र कार्यकर्ताको मनोबल गिर्ने चेतावनी समेत क्षेत्रीय समितिले दिएको छ।

आकाङ्क्षीहरूको सूची टुङ्ग्याउने प्रक्रिया अझै जारी रहेको क्षेत्रीय सभापति लामिछानेले बताए। साथै, यस विषयमा ध्यानाकर्षण गराउँदै प्रदेश कार्यसमितिलाई पत्र समेत पठाइएको छ।

कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, तिलकबहादुर रानाभाट, जीवन परियार, गुरु बराल, सुदीप मोहन भट्टराई, भानुभक्त ढकाल, प्रेमप्रसाद शर्मा सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सरिता कार्की (लोभिसा) आकाङ्क्षी छन्।

समानुपातिकतर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाँले दाबी गरेका छन्।

यता, जिल्ला सभापति किशोरदत्त बरालले भने क्षेत्रबाट तोकिएको समयमा नाम प्राप्त नभएकाले जिल्लाले सिधै सिफारिस गर्नुपरेको दाबी गरेका छन्।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…