
काठमाण्डौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत नवगठित लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सको चार्टर सर्टिफिकेट हस्तान्तरण तथा ओरिएन्टेशन कार्यक्रम शनिबार सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाण्डौं टेम्पल गणेशको स्पोन्सरमा स्थापना भएको उक्त क्लबको चार्टर हेन्डओभर कार्यक्रम ठमेलस्थित होटल मनाङमा आयोजना गरिएको हो।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सलाई चार्टर सर्टिफिकेट हस्तान्तरण गरेकी थिइन्। साथै, क्लबका संस्थापक सदस्यहरूलाई प्रमाणपत्र वितरण पनि डिष्ट्रिक्ट गभर्नर पाण्डेले नै गरेकी थिइन्।
कार्यक्रमको पहिलो सेसन स्पोन्सर क्लब लायन्स क्लब अफ काठमाण्डौं टेम्पल गणेशकी अध्यक्ष तृष्णा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। लायनवादसम्बन्धी अभिमुखीकरण (ओरिएन्टेशन) सहितको दोस्रो सेसन भने लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सकी संस्थापक अध्यक्ष दीपशिखा शर्माको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेसँगै विशेष अतिथिका रूपमा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठ, डिष्ट्रिक्ट चिफ एडभाइजर विष्णु भण्डारीलगायत डिष्ट्रिक्टका वरिष्ठ लायन्स लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, लायन्स क्लब अफ काठमाण्डौं टेम्पल गणेश, फिनिक्स तथा अन्य विभिन्न क्लबका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले क्लब स्थापना भएको छोटो अवधिमै प्रभावकारी सामाजिक कार्य गर्न सफल भएकोमा क्लबप्रति गर्व महसुस गरेको बताइन्। उनले लायन्स अन्तर्राष्ट्रियका उद्देश्य र मूल्यबारे जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न क्लबलाई प्रेरित गरिन्।
त्यसैगरी, चिफ एडभाइजर विष्णु भण्डारीले लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सद्वारा आयोजना गरिँदै आएका रचनात्मक तथा सेवामूलक कार्यक्रमहरूको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे।
चार्टर हेन्डओभर कार्यक्रमसँगै आयोजना गरिएको ओरिएन्टेशन कार्यक्रम डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रमको समापनमा लायन्स क्लब अफ काठमाण्डौं फिनिक्सकी अध्यक्ष दीपशिखा शर्माले उपस्थित सम्पूर्ण लायन्स लिडर तथा अतिथिहरूप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन्।











