0Shares

लेखनाथ, १ पुस ।लेखनाथ उद्योग वाणिज्य संघले यही पुस ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागेको २१औँ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नारासहित आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले जेन–जी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित, वर्तमान विषम आर्थिक अवस्थाका बीच व्यवसायी र उपभोक्ताको खस्किएको मनोबल उकास्दै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताइन् । उनले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको जनाउँदै लेखनाथ महोत्सवलाई *‘अनौपचारिक विश्वविद्यालय’*का रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।

बिहीबारदेखि सुरु हुने महोत्सवका विशेष आकर्षणमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत, विद्यालयस्तरीय नृत्य, शैक्षिक तथा साहित्यिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने झाँकी र्‍याली तथा सांस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक कार्यक्रम, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम संगीत कन्सर्ट समावेश गरिएको छ ।

त्यसैगरी औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बीउबिजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल र अटोमोबाइल प्रदर्शनी पनि महोत्सवमा रहनेछन् । पर्यटन प्रवर्द्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी जानकारीसमेत महोत्सवमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवा तथा सूचना मूलक गरी ३३५ वटा स्टल रहने जानकारी दिइएको छ ।

महोत्सव अवलोकनका लागि करिब २ लाख ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने, ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौला लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सह–आयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ ।

महोत्सवको टिकट दर विद्यार्थीका लागि ५० रुपैयाँ, साधारण प्रवेश १०० रुपैयाँ र कन्सर्ट टिकट २०० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.को मुख्य प्रायोजनमा हुने महोत्सवका सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौंडा डेरी रहेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected