पोखरामा निर्वाचन सुरक्षामा केन्द्रित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

पोखरा, मंसिर २९ । गृहमन्त्री ओम प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सोमबार पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार निर्मूलनको आधारमा गठन भएको वर्तमान सरकारको प्रमुख उद्देश्य तोकिएको समयमै निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु रहेको स्पष्ट पारेका छन् । सो उद्देश्य पूरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ थियो।

स्वच्छ र निष्पक्ष निर्वाचन नै लोकतन्त्रको मूल मर्म रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले यसका लागि आवश्यक वार्ता, छलफल र संवादमा सरकार सदैव तयार रहेको बताए । अर्यालले निर्वाचनसँग सम्बन्धित परिवर्तित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विगतका आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गराउने तथा कारागारबाट फरार भएका कैदीबन्दी पक्राउका लागि विशेष अपरेसन सञ्चालन भइरहेको जानकारी दिए ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत भदौ २३ र २४ गते भएको आन्दोलनका कारण सुरक्षाकर्मीको मनोबलमा आएको गिरावट, बदलिएको राजनीतिक परिस्थिति र थपिएका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विगतभन्दा अझ जिम्मेवार र प्रभावकारी सुरक्षा योजना आवश्यक रहेको बताउदै तोकिएको समयमै निर्वाचन सम्पन्न नगरे थप जटिलता उत्पन्न हुन सक्ने उनको चेतावनी थियो।
गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनका क्रममा नेपाल प्रहरीको जनशक्ति र साधनस्रोत न्यूनतम अवस्थामा रहे पनि उच्च मनोबलका साथ सुरक्षा चुनौती सामना गर्न तयार रहेको बताए । गोष्ठीबाट प्राप्त निर्देशन तथा सुझावको अधिकतम उपयोग गर्दै प्रदेशस्तरीय सुरक्षा व्यवस्थापन तथा आगामी निर्वाचन सुरक्षामा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका साथ कार्य अघि बढाइने उनले विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह–सचिव गोविन्द रिजाल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ–आफ्ना मन्तव्य तथा प्रस्तुतीकरण राखेका थिए ।
गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षा अवस्था, समस्या, चुनौती, समाधानका उपाय तथा आगामी कार्यक्रमबारे प्रस्तुतीकरण राखेका थिए । प्रदेशको समग्र सुरक्षा अवस्था, चुनौती, आवश्यक तयारी तथा निर्वाचन सुरक्षालाई केन्द्रमा राखी विस्तृत छलफल गरिएको गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। गोष्ठीको समापन गृह सचिव रामेश्वर दंगालले मन्तव्यसहित गरेका थिए।






सम्बन्धित खवर
















