२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

होटल संघ पोखरा नेपालको ४३ औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा। होटल संघ पोखरा नेपालको ४३ औँ वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै तुलाचनले पोखराको पर्यटन प्रवर्द्धनमा होटल संघले खेलेको भूमिकाको प्रशंसा गर्दै व्यवसायिक हकहित संरक्षणका लागि संघ अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। संघ स्थापना हुँदाका चुनौती र उद्देश्य स्मरण गर्दै उनले संस्थागत एकता र निरन्तरतामा जोड दिए।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा ‘२४ घण्टा खुला’ भन्ने विषयमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण गराए। उनले रात्रीकालीन व्यवसाय सबैका लागि २४ घण्टा खुला भन्ने प्रचारले पोखराको पर्यटनलाई नै नकारात्मक असर पुर्‍याएको बताए।
‘विभिन्न सरोकारवाला निकायको सहभागितामा तयार गरिएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीलाई मात्र २४ घण्टा सञ्चालनको अनुमति दिने व्यवस्था हो,’ अध्यक्ष सुवेदीले स्पष्ट पारे, ‘तर सिंगो लेकसाइड र पोखरा रातभर खुला छ भन्ने गलत सन्देश फैलिएको छ।’

यस भ्रमका कारण आन्तरिक पर्यटकले राति ढिलोसम्म सेवा माग्दा व्यवसायीहरू समस्यामा परेको उनले गुनासो गरे। ‘तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरेर रातभर सेवा दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘पर्यटकसँग “२४ घण्टा खुला होइन” भनेर बारम्बार स्पष्ट पार्नुपर्दा असहज स्थिति सिर्जना भएको छ।’ २४ घण्टा पोखरा खोल्दा पर्यटनमा ठूलो परिवर्तन आउने भनिए पनि व्यवहारमा अपेक्षित नतिजा नआएको उनले उल्लेख गरे।

अध्यक्ष सुवेदीले संघले पोखरा तथा समग्र नेपालको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गर्दै आएका ‘जाऔँ है पोखरा’, ‘चलिऔँ पोखरा’ र ‘पोखरा: प्योर एण्ड पर्फेक्ट’ जस्ता अभियानको स्मरण गराउँदै यस्ता प्रयासकै कारण पोखरा आउने नेपाली पर्यटकको हिस्सा ३ प्रतिशतबाट बढेर करिब ४० प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरे। भाइटिका महोत्सवजस्ता कार्यक्रमलाई पनि निरन्तरता दिइँदै आएको उनले बताए। साथै, पोखराबाट विभिन्न देशसम्म सिधा हवाई उडान सञ्चालनका लागि केही देशका राजदूतहरूसँग छलफल गरिएको जानकारी पनि दिए।

अर्को सन्दर्भमा उनले २५ बेडभन्दा माथिका होटललाई अनिवार्य गरिएको वातावरणीय प्रभाव मूल्यांकन (EIA) व्यवस्था अव्यवहारिक भएको गुनासो गरे। साना होटलका लागि यस्तो प्रक्रिया जटिल र खर्चिलो हुँदा धेरै होटल नवीकरण हुन नसकेको उनले बताए।

कार्यक्रममा संघकी सचिव पार्वती पाण्डेले आगामी कार्यक्रमहरू प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश) ले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा विशाल ग्रुपका प्रतिनिधि तरुण अग्रवालले कम्पनीद्वारा बिक्री–वितरण गरिँदै आएका विद्युतीय सवारीसाधनबारे जानकारी गराए।

कार्यक्रमको समापन गर्दै संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गरे।

यसै अवसरमा होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालबीच पोखरालाई दिगो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहकार्य गर्ने उद्देश्यले सम्झौता पनि गरिएको छ। उक्त सम्झौताअन्तर्गत दिगो परियोजनामा स्वीसकन्ट्याक्ट नेपालले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…