
काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा हालसम्म ७२० मत खसेको छ। दिउँसो साढे चार बजेसम्म उक्त मत खसेको निर्वाचन समितिले जनाएको छ।
बिहान करिब साढे ९ बजेबाट सुरु भएको मतदानमा सात घण्टाको अवधिमा ७२० मत खसेको हो। यसैबीच, मतदान समय थप गरी राति ८ बजेसम्म पुर्याइएको छ। यसअघि मतदान समय साँझ ५ बजेसम्म तोकिएको थियो।
निर्वाचन समितिका अनुसार राति ८ बजेसम्म मतदान स्थलभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मत हाल्न पाउनेछन्। मतदान केन्द्रमा ८० वटा विद्युतीय मतदान मेसिनमार्फत मतदान प्रक्रिया जारी छ।











