
डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालकी गभर्नर पार्वती खरेल पाण्डेले ५३औँ इशामे फोरममा प्रस्तुत गरिन् प्रेरणादायी सफलता कथा
पोखरा। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालका डिष्ट्रिक्ट गभर्नरहरू लायन वर्षको सुरुआतमै लायन्स अन्तर्राष्ट्रियसमक्ष गरिएको रिक्रुटमेन्टसम्बन्धी प्रतिबद्धता सफलतापूर्वक पूरा गर्न सफल भएपछि भारतको अहमदाबादमा सम्पन्न ५३औँ इशामे एरिया फोरममा अन्तर्राष्ट्रिय रूपमा सम्मानित भएका छन्। इशामे एरिया फोरममा भारत, साउथ एशिया, अफ्रिका र मिडल इस्टका देशहरु आवद्व छन्।
लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले १११ प्रतिशत रिक्रुटमेन्ट लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भइन्। यस अवसरमा उनले आफ्नो नेतृत्व यात्रा, टिमवर्क, सदस्य विस्तारका रणनीति तथा सेवा भावनालाई केन्द्रमा राखेर हासिल गरिएको सफलताको प्रेरणादायी ‘सक्सेस स्टोरी’ पनि फोरममा प्रस्तुत गरिन्।

डिष्ट्रिक्ट गभर्नर पाण्डेले प्रस्तुत गरेको सफलताको कथाले एशिया तथा अन्य क्षेत्रका लायन्स नेताहरूलाई गहिरो प्रभाव पारेको बताइएको छ। उनले “संगठन विस्तार केवल संख्याको विषय होइन, गुणस्तरीय नेतृत्व, सक्रिय सदस्यता र सेवा संस्कृतिको निरन्तरताबाट मात्र दीगो सफलता सम्भव हुन्छ” भन्ने सन्देश दिइन्। उनको प्रस्तुति पश्चात सभाहलभरि प्रशंसा र सम्मान प्रकट गरिएको थियो।
यसै फोरममा रिक्रुटमेन्ट लक्ष्यमा उल्लेखनीय उपलब्धि हासिल गर्ने लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालका अन्य डिष्ट्रिक्ट गभर्नरहरू पनि अन्तर्राष्ट्रिय रूपमा सम्मानित भएका छन्।
सम्मानित हुनेहरूमा डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा (७९%), डिष्ट्रिक्ट ३२५ ‘एस’ नेपालका डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत (७५%), डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्ल (६२%) र डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालका डिष्ट्रिक्ट गभर्नर दुर्गाप्रसाद हुमागाईं (६०%) रहेका छन्।
नेपालका डिष्ट्रिक्ट गभर्नरहरूले हासिल गरेको यस सफलताप्रति गर्व व्यक्त गर्दै लायन्स अन्तर्राष्ट्रियका एल.सि.आई. एफ. एरिया लिडर राजन लम्सालले सामाजिक सञ्जालमार्फत पाँचै जना डिष्ट्रिक्ट गभर्नरहरूलाई बधाई ज्ञापन गरेका छन्। उनले विशेषगरी डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको उपलब्धिको खुलेर प्रशंसा गर्दै डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको नेतृत्वलाई अनुकरणीय बताएका छन्। साथै, उनले लायन्स क्लबहरूलाई सेवा परियोजनासँगै एल.सि.आई. एफ. मार्फत अन्तर्राष्ट्रिय मानवीय अभियानमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन्।

उनले डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे तथा सम्पूर्ण डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको यस गौरवपूर्ण सफलताले नेपाली लायन्स आन्दोलनलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त, विश्वसनीय र प्रेरणादायी बनाएको उल्लेख गरेका छन्।
लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालका लागि यो उपलब्धि केवल अवार्डमा सीमित नभई संगठनात्मक क्षमता, नेतृत्व विकास र अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस अवसरमा मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापासहित सम्पूर्ण मल्टिपल डिष्ट्रिक्ट ३२५ परिवारले सम्मानित सबै डिष्ट्रिक्ट गभर्नरहरूलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।











