19Shares

लेखनाथ, ८ पुस। कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक र सन्देशमूलक कार्यक्रमहरू प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत र उद्देश्यपूर्ण बनाउँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको हो ।

महोत्सवको छैटौँ दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस ले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव आदान–प्रदान र गम्भीर छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ ।

उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यवसायिक यात्रा, संघर्ष र सफलताका कथा साझा गरेका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यवसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षण रहेको बताए । उनले १३–१४ वर्षकै उमेरमा टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुनजस्ता नेपाली उत्पादन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण स्वदेशी व्यवसायमा परेको असर महसुस गरेपछि नेपाली उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनले बताए ।

त्यस्तै, दिप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ आत्मविश्वासका साथ व्यवसाय सुरु गरेको बताइन् । निरन्तर मेहनत, आत्मबल र कर्मचारीको सहयोगले आफ्नो व्यवसाय क्रमशः विस्तार हुँदै गएको अनुभव सुनाउँदै उनले संघर्षका कथा साझा गरिन् ।

मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद वास्तोलाले सानो समिलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा अनेक चुनौती झेल्नुपरेको बताए । नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावका कारण व्यवसाय सञ्चालनमा समस्या आएको उल्लेख गर्दै उनले संघर्षकै बीच व्यवसायलाई निरन्तरता दिएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डिपिआरमै ठूलो खर्च लाग्ने भएकाले धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए ।

स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । आर्थिक कारोबारतर्फ दैनिक करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

लेखनाथ महोत्सवले स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected