1Shares

पोखरा, ८ पुस । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली प्रमुख अतिथि रहेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं अतिथिहरूले विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए ।

किडासाको सहयोगमा वितरण गरिएको उक्त सामग्री सामाजिक विकास केन्द्रले सञ्चालन गर्दै आएको जीविकोपार्जन तथा शिक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिएको हो । सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी सहयोग गरिएको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष देवकृष्ण पराजुलीले अभिभावकको दायित्व केवल छोराछोरीलाई विद्यालय भर्ना गरिदिनुमा मात्र सीमित नहुने बताए । बालबालिकाले के गरिरहेका छन् भन्नेबारे सचेत भई उनीहरूलाई सही मार्गदर्शन गर्न सके मात्र राष्ट्रले असल नागरिक प्राप्त गर्ने उनको भनाइ थियो ।

संघका अध्यक्ष गोकर्ण कार्कीले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भए श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको संरक्षण र सहयोगलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघले विगत २५ वर्षदेखि सहरी क्षेत्रमा रहेका बालश्रमिक, घरेलु कामदार तथा उनीहरूका परिवारको हितका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected