3Shares

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म अमरसिंह खेल मैदानमा सञ्चालन हुने १४औँ पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सवको तयारीस्वरूप मंगलबार महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमिति तथा सल्लाहकारहरूको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकले महोत्सवलाई सभ्य, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा बोल्दै महोत्सव सल्लाहकार डा. कृष्ण केसीले समय र परिस्थितिअनुसार महोत्सव सञ्चालन गर्नुपर्नेमा जोड दिए। क्लबले हालसम्म गरेका सामाजिक कार्यको उपलब्धिलाई महोत्सवमार्फत प्रस्ट रूपमा उजागर गर्नुपर्ने बताउँदै उनले सेती नदी संरक्षणका लागि सरकारी निकायसँग सहकार्य गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी, अमरसिंह माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सुदीप आचार्यले विद्यार्थीलाई आकर्षित गर्न विद्यार्थीहरूले निर्माण गरेका सामग्रीको प्रदर्शनी समावेश गर्न सुझाव दिए। सल्लाहकार टीका बहादुर कार्कीले महोत्सव स्थल सधैँ एउटै नहुने भएकाले वैकल्पिक स्थलको खोजी आवश्यक रहेको उल्लेख गर्दै विभिन्न संघ–संस्थासँग सहकार्य र समन्वय गर्दै पोखराको पहिचान झल्किने कार्यक्रम गर्न आग्रह गरे। उनले स्थानीय सरकारलाई अपनत्व गराउने गरी काम गर्नुपर्नेमा समेत जोड दिए।

सल्लाहकार शंकरनाथ पौडेलले पोखरा महोत्सव लेखनाथ क्षेत्रका महोत्सवहरूभन्दा उत्कृष्ट भएको उल्लेख गर्दै १४औँ संस्करणमा लेखनाथ क्षेत्रको चिडियाखाना झल्काउने प्रदर्शनी तथा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा गरेका योगदानलाई उजागर गर्नुपर्ने बताए।

राम बहादुर पौडेलले वातावरणमैत्री ढंगले महोत्सव सञ्चालन गर्नुपर्ने धारणा राख्दै महोत्सव पूर्वसन्ध्यामा सरसफाइ कार्यक्रमको नेतृत्व गर्ने प्रतिबद्धता जनाए। माधव गौतमले पोखराका सबै ३३ वडाबाट सहभागिता गराउन सके महोत्सवप्रति अपनत्व अझ बढ्ने बताए।

त्यस्तै ईन्दिरा पन्तले पोखरा पर्यटकीय राजधानीसँगै साहित्यिक राजधानीसमेत भएकाले महोत्सवमा साहित्यिक कार्यक्रम समावेश गर्न सके थप रौनकता आउने बताइन्। राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्किने कार्यक्रम आवश्यक रहेको सुझाव दिए भने सन्तोष सिग्देलले चर्चित कलाकारको प्रस्तुति भए दर्शक आकर्षण बढ्ने बताए। लिलाधर अधिकारीले पार्किङ व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

सुवेदार जसबहादुर गुरुङले उद्घाटनका अवसरमा आयोजना गरिने झाँकी ¥यालीलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गर्दै अमरसिंह विद्यालयका संस्थापक मेजर वीरसिंह तथा जग्गादाता देवराज घिमिरेलाई स्मरण गर्नुपर्ने बताए।

महोत्सवका मूल समारोह संयोजक लोक बहादुर थापाले महोत्सवलाई सभ्य र भव्य बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए। संस्थापक अध्यक्ष हिमालय बख्रेलले सल्लाहकारहरू क्लबका ‘ब्याकबोन’ भएको उल्लेख गर्दै प्राप्त सुझावहरू कार्यान्वयन गर्दै अघि बढ्ने बताए। पोखरा खुला चिडियाखाना अभियान युनाइटेड क्लबकै पहलमा अघि बढेको स्मरण गराउँदै अबको गन्तव्य आवासीय छात्रावास निर्माण रहेको उनको भनाइ थियो।

कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए। बैठकमा सल्लाहकारहरू रामजीप्रसाद बास्तोला, गुप्त बहादुर कार्कीलगायतले आ–आफ्ना धारणा राखेका थिए।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected