8Shares

पोखरा । आसन्न छैटौं संस्करणको ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ मा महिला र पुरुष गरी कुल १४ टोली सहभागी हुने पक्का भएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आगामी माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिलातर्फ थाइल्याण्डका दुई टोली तथा पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली र भारत (गुजरात) को टोलीसहित कुल चार विदेशी टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब (थाइल्याण्ड), थाइल्याण्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, टिपटप न्यू डामण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब (रुपन्देही) को सहभागिता रहने जनाएको छ।

त्यसैगरी पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसिएसन क्लब, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र एपिएफ क्लब सहभागी हुनेछन्।

प्रतियोगिता सम्पन्न गर्न करिब रु १ करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष शर्माले बताए। उनले स्वदेश तथा विदेशमा रहेका भलिबलप्रेमी, शुभेच्छुक तथा संघ–संस्थाहरुलाई सहयोगका लागि आह्वान गर्दै भने, “टाइगर कप भलिबल आज एक ब्रान्डका रूपमा स्थापित भएको छ। विगतझैं यसपटक पनि प्रतियोगिताबाट बचत भएको रकम शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासमा खर्च गरिनेछ।”

प्रतियोगिताको संयोजकमा राजकुमार गुरुङ र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) मनोनयन भएका छन् भने मूल आयोजक समितिको संयोजकमा अध्यक्ष शर्मा स्वयं रहेका छन्। प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न १०७ सदस्यीय मूल आयोजक समितिसहित १४ उपसमिति गठन गरिएको जानकारी पनि दिइएको छ।

पत्रकार सम्मेलनका अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, मकाउ भलिबल संघका अध्यक्ष नरेश गुरुङ, नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक तथा कोरिया निवासी खोम गुरुङलाई सम्मान गरेको छ।

प्रतियोगितालाई थप व्यवस्थित, मर्यादित तथा दर्शक–मैत्री बनाउन रु ३ हजार ५ सयको सिजनल टिकटको व्यवस्था गरिएको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिए। प्रतियोगितालाई डिजिटल तथा प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित तयारी अघि बढाइएको छ।

छैटौं संस्करणको टाइगर कपको च्याम्पियन टोलीले रु ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले रु ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीले रु १ लाख ६६ हजार ६ सय ६६ नगद पुरस्कार प्राप्त गर्नेछन्। उक्त पुरस्कार महिला र पुरुष दुवैतर्फ समान रूपमा प्रदान गरिनेछ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले रु २६ हजार ६ सय ६६ नगद पाउनेछन् भने अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडीले रु ११ हजार ६ सय ६६, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

गत पाँचौं टाइगर कप पुरुषतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुप अफ पोखराले पहिलो पटक उपाधि हात पारेको थियो।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected