
काठमाडौं, पुस १३ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरू तत्काल कार्यान्वयन गर्न पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी परिपत्रअनुसार २०८२ पुस १२ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाल विकसित राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण र अनुशासन कायम राख्ने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
पार्टीले हालको राजनीतिक परिवेशमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीभित्र एकता, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउने निर्णय गरेको छ। पार्टी हितविपरीत गतिविधिमा संलग्न नहुन तथा अनुशासन उल्लङ्घन गर्ने कुनै पनि कार्य नगर्न सबै तहका नेता–कार्यकर्तालाई सचेत गराइएको छ।
निर्णयअनुसार अघिल्लो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक वा समर्थक बनेका तथा पार्टी हितविपरीत गतिविधि गरेका व्यक्तिमाथि गरिएको कारबाहीको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय भएको छ। यस्ता व्यक्तिहरूको पद नदोहोर्याई सक्रिय सदस्यता नवीकरण गरी पार्टीको मूलधारमा ल्याइने जनाइएको छ।
त्यसैगरी, विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र वा अन्य दलबाट उम्मेदवार बनेका, प्रस्तावक–समर्थक बनेका व्यक्तिहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गरिएको छ। फर्किएका साथीहरूलाई क्रियाशील सदस्यता प्रदान गर्दै आवश्यक जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकले बौद्धिक, व्यावसायिक तथा विभिन्न क्षेत्रका लोकतान्त्रिक विचारधारा राख्ने व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको नेपाली कांग्रेसले जनाएको छ।
उक्त परिपत्र प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा तहका सबै कार्यसमितिहरूलाई पठाइएको छ।












