लेखनाथ महोत्सवमा १० करोडभन्दा बढी कारोबार, ३ लाख १० हजार दर्शकको सहभागिता,भोलि समापन
- December 28, 2025
- 1809

लेखनाथ। कास्की जिल्लाको पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१औँ लेखनाथ महोत्सवले अपेक्षाभन्दा बढी सफलता हासिल गर्दै समापनको चरणमा पुगेको छ । महोत्सव अवधिभर १० करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार भएको छ भने ३ लाख १० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् ।
‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सव सोमबार पुस १४ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा औपचारिक रूपमा समापन हुँदैछ ।
यस वर्षको महोत्सवले मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई एकै थलोमा समेट्दै यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ ।
महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, साथै हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहेका थिए । विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन र सांस्कृतिक पहिचान झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूले दर्शकको मन जितेका थिए ।
महोत्सवमा देशभरबाट आएका ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो । विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवर्द्धनले स्थानीय व्यवसायी र कृषकलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ ।
महोत्सवकी मूल संयोजक तथा अध्यक्ष जानुका पराजुली अधिकारीले २१औँ संस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउँदै, यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पुर्याउने उल्लेख गरिन् । उनले आगामी दिनमा पनि स्थानीय तहबाट यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाइन् ।
आयोजक समितिका अनुसार महोत्सवले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महोत्सव संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सव अवधिभर लाखौँ दर्शकको सहभागिता रहेको र अपेक्षाभन्दा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । उनले एक दिनमा मात्रै २२ हजार दर्शकले महोत्सव अवलोकन गरेको र करिब ९० लाख रुपैयाँको आर्थिक कारोबार भएको जानकारी दिए ।
समापन समारोहमा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीहरूलाई सम्मान गरिने आयोजक समितिले जनाएको छ । सफल आयोजनाका लागि स्थानीयवासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन् ।










