
पोखरा । पोखरा महानगरपालिकाले कर संकलनका लागि प्रयोग गर्दै आएको SUTRA Revenue Model पटक–पटक अवरुद्ध हुँदा सेवाग्राहीले गम्भीर समस्या भोग्नुपरेको गुनासो बढ्दै गएको छ। राजश्व प्रणाली नियमित रूपमा सञ्चालन नहुँदा कर तिर्न आएका नागरिक लामो समयसम्म प्रतिक्षा गर्न बाध्य हुने तथा कतिपय अवस्थामा कर नतिरी फर्किनुपर्ने अवस्था सिर्जना भएको छ।
यस विषयमा पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष किरण बरालले आइतबार प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र वित्तीय महाशाखा प्रमुख जयराम पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा राजश्व प्रणालीको बारम्बारको अवरोधले महानगरपालिकाप्रतिको नागरिक विश्वासमा नकारात्मक असर परेको उल्लेख गरिएको छ।
वडा अध्यक्ष बरालका अनुसार व्यस्त जीवनशैलीका बाबजुद राष्ट्रप्रति उत्तरदायी बन्दै कर तिर्न आएका सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक छ। प्रविधिमा आधारित सेवा प्रवाहलाई सहज, छिटोछरितो र भरपर्दो बनाउने उद्देश्यका विपरीत राजश्व प्रणाली नै अवरुद्ध हुनु गम्भीर चुनौतीका रूपमा देखिएको उनले बताए।
ज्ञापनपत्रमार्फत राजश्व प्रणालीलाई सरल, स्थायी र विश्वसनीय रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन महानगरपालिकासँग आग्रह गरिएको छ। साथै, सेवाग्राहीमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह पोखरा महानगरपालिकाको पहिचान बन्नुपर्ने अपेक्षा पनि व्यक्त गरिएको छ।
यसै सन्दर्भमा हाल पुष मसान्तसम्म तोकिएको राजश्व छुटको समयावधि चैत मसान्तसम्म विस्तार गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समावेश गरिएको छ। कर तिर्ने वातावरण सहज बनाएर नागरिकको समय र विश्वास दुवै जोगाउन पोखरा महानगरपालिकाले तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा वडा अध्यक्ष बरालले जोड दिएका छन्।












