
पोखरा, २० पुस । पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरालाई ५ सेट कम्प्युटर, २ वटा प्रिन्टर तथा १ वटा ल्यापटप सहयोग गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीले आइतबार उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्य जीवन श्रेष्ठ, दूधमान गुरुङ ‘आशिष’ तथा संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थितिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानालाई कुल ५ लाख ३१ हजार ८ सय ७१ रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले उक्त सहयोगपछि आन्तरिक राजश्व कार्यालयबाट प्रवाह हुने सेवामा थप सहजता आउने विश्वास व्यक्त गरे ।
जेन–जी आन्दोलनको दोस्रो दिन गत भदौ २४ गते भएको आगजनी, तोडफोड तथा लुटपाटका कारण आन्तरिक राजश्व कार्यालय पोखराले दैनिक सेवा प्रवाहका लागि अत्यावश्यक सामग्रीको अभाव झेल्दै आएको थियो । उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष सम्बन्ध रहेको उक्त कार्यालयको सेवा प्रवाहमा कुनै कमी नआओस् भन्ने उद्देश्यले सामग्री सहयोग गरिएको संघकी महासचिव शोभा गौतमले जानकारी दिईन् ।









