
काठमाडौं। नेपाली कांग्रेसले पार्टी विधानअनुसार बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई सफल बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन औपचारिक आव्हान गरेको छ। पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशन कानुनी, वैधानिक र राजनीतिक रूपमा अनिवार्य भएको स्पष्ट पारेका छन्।
महामन्त्रीद्वयद्वारा जारी आव्हानमा नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दलले लोकतान्त्रिक विधि अपनाउनुपर्ने बाध्यकारी व्यवस्था स्मरण गराइएको छ। साथै नेपाली कांग्रेसको विधान (संशोधनसहित) ले विशेष परिस्थितिमा विशेष केन्द्रीय महाधिवेशन बोलाउने स्पष्ट व्यवस्था गरेको उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ, “पार्टीको आन्तरिक जीवन सुदृढ बनाउने, बदलिँदो राजनीतिक परिस्थितिमा संगठनलाई पुनर्जीवित गर्ने तथा जनभावनाअनुरूप नीति र नेतृत्व निर्माण गर्न विशेष केन्द्रीय महाधिवेशन अपरिहार्य भएको छ।”

महामन्त्रीद्वयका अनुसार महाधिवेशन प्रतिनिधिहरूबाट हस्ताक्षरसहित विशेष महाधिवेशन माग भइसकेको अवस्थामा विधानले तोकेको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्नु पार्टी नेतृत्वको कानुनी र नैतिक दायित्व हो। तर केन्द्रीय कार्यसमितिबाट समयमै आवश्यक निर्णय हुन नसकेपछि विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारिएको छ।
नेपाली कांग्रेसको विधानको धारा ७(२) र धारा २७(४) अनुसार २५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त प्रक्रिया पूर्ण रूपमा पालना गरिएको दाबी गरिएको छ।
महामन्त्रीद्वयले यही आधारमा २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष केन्द्रीय महाधिवेशनमा सक्रिय, मर्यादित र जिम्मेवार सहभागिताका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आव्हान गरेका छन्।

वक्तव्यको अन्त्यमा भनिएको छ, “विशेष महाधिवेशन बदलिँदो समयको कांग्रेसका लागि र बदल्नुपर्ने देशका लागि हो। कठिन परिस्थितिमा पनि पार्टीलाई एकढिक्का राख्ने जिम्मेवारीप्रति हामी प्रतिबद्ध छौं।”
नेपाली कांग्रेसले यो विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ।











