
स्याङ्जा । घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडा खण्डअर्न्तगत झण्डै ८ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो । ट्रयाक खोलेको करिब २५ वर्षपछि घुम्ती–चिसापानी सडकको दोस्रो खण्ड कालोपत्रे गरिएको छ ।
सम्झौता भएको २७ महिनाभित्र सडक कालोपत्रे सक्नेगरी २०७९ असारबाट निर्माण कम्पनीले काम थालेको थियो । टुन्टी आरएस जेभि निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपैयाँमा सडक निर्माणको जिम्मा पाएको थियो । २०८१ असोजमा सडक निर्माणको काम सक्नुपर्नेमा चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिना पछिमात्रै कालोपत्रे गर्ने कामले गति लिएको हो ।
२०७९ असारमा सम्झातौ भएर २०८१ असोजमा सक्नुपर्ने सडक कालोपत्रे गर्ने काम बजेट अभावमा रोकिदा ढिला भएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर धुर्व पोख्रेलले बताए । ‘समय सिमामा सक्नेगरी सम्झौता भएपनि बजेट अभावले समयमै सडक निर्माण हुन् सकेन् ।’ उनले भने, ‘चालु आर्थिक वर्ष २०८२/८३ मा भुक्तानी दिन सम्झौत रकम भएपनि निर्माण कम्पनीको जोडबलले सडक कालोपत्रे गर्ने काम अगाडी बढाइएको छ ।’
पछिल्लो समयमात्रै सडक निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो र समथर बनाउने, टेवा पर्खाल र नाला निर्माणसँगै गिटी बिछ्याएर सकिएको छ । मौसम घमाएपछि बिटुमिन बिछ्याउँदै कालोपत्रे गर्ने कामले थप गति लिने कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौता अनुसारको सबै काम सकिने छ । रकम अभावकै कारण कालोपत्रेको काम अब नरोकिने समेत डिभिजन कार्यालयले दावी गरेको छ ।
निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको घुम्ती–चिसापानी सडकले हरिनाश गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने छ । २७ किलोमिटर लामो सडकको पहिलो घुम्ती–काउँले खण्डको ५ दशमलब ५ किमी पूर्वाधार विकास कार्यालयले कालोपत्रे गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा झण्डै १६ करोडको लागतमा सडकको पहिलो खण्डको निर्माण सकिएको थियो ।
आर्थिक वर्ष २०५७/५८ मा नयाँ ट्रयाक खुलेपनि सडकको पहिलो खण्डनै कालोपत्रे हुन् झण्डै २० वर्ष लाग्यो । जिल्लाको पूर्वीदक्षिण क्षेत्रका पुलतीबजारसँगै पुरानो बहाकोट, कोल्मा, ओरष्ट, किचनास, मग्याम चिसापनी र चित्रेभज्याङ् गाविसका स्थानीयलाई सडक सञ्जालमा जोड्ने गरी सडक निर्माण गरिएको किचनासका स्थानीय अगुवा अजित क्षेत्रीले बताए । २५ वर्षपछि सडक बन्न लाग्दा समेत पहिलो र दोस्रो खण्ड गरी १३ किलोमिटर मात्रै कालोपत्रे हुने भएको उनले जनाए ।
पुलतीबजार नगरपालिका, बिरुवा र हरिनाश गाउँपालिका गरी तीन पालिका जोड्ने गरी निर्माण भएको सडकको बाँकी खण्डाको झण्डै १४ किलोमिटर दुरावस्था छ । सडक बनेपछि जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं.–१, २, ८, ९, बिरुवा गाउँपालिका वडा नं–३, ४, तथा ५ र हरिनाश गाउँपालिका वडा नं.–१, २, ३ र ४ सहित तनहुँ जिल्लाको पश्चिमी क्षेत्र शुक्लागण्डकी, ढोरफिर्दी, र राईपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् ।
सडक निर्माणको सन्दर्भमा नयाँ ट्रयाक खोल्नेमा स्थानीयको तानातान र ट्रयाक खुलेपछि बजेट अभावले समयमै स्तरोन्नति हुन नसकेको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रकान्त पोख्रेलले बताए । सडक स्तरोन्नतिका लागि बजेट विनियोजन र सुनिश्चित गर्न संघ र प्रदेश सरकारसँग दर्जनौ पटक हारगुहार गरेको पोख्रेलले दुःखेसो गरे । समयमै सडक स्तरोन्नति गर्न सकेको भए त्यस क्षेत्रमा कृषि र पर्यटन विकासमा ठूलो परिवर्तन ल्याउन सकिनेमा पोख्रेल विश्वस्त थिए ।






सम्बन्धित खवर















