0Shares

पोखरा, २९ पुस । मान्छेलाई रोग लागे उपचारका लागि अस्पताल लगिन्छ । तर व्यवसाय र उद्योगलाई समस्या आइपरे के गर्ने ? यही प्रश्नको उत्तर खोज्दै पोखरामा उद्यम क्लिनिक सुरु गरिएको छ । उद्यममा देखिने अवरोध वा ‘रोग’ पहिचान गरी समाधान गर्दै स्वस्थ बनाउने उद्देश्यका साथ मंगलबारबाट क्लिनिकको विधिवत् सुरुवात गरिएको हो ।

पोखरा महानगरपालिकाअन्तर्गत रहेको व्यवसाय प्रवद्र्धन केन्द्रले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उक्त क्लिनिक सञ्चालनमा ल्याएको हो ।

क्लिनिक उद्घाटनपछि न्यूरोड क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केपी शर्मा पाध्याले व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलाई व्यवसायीका समस्यासहितको फाइल हस्तान्तरण गरे ।

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले केन्द्रले यसअघि पनि यस्तै प्रकृतिका काम गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रसँग अझ घनिष्ठ सहकार्य बढाउने उद्देश्यले उद्यम क्लिनिक सुरु गरिएको जानकारी दिए ।

त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पुर्‍याउने र समग्र व्यावसायिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गरे भने कार्यक्रम सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन् ।

साथै, सो अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेन्टरका तर्फबाट सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले प्रवाह गर्ने सेवाबारे प्रस्तुति प्रस्तुत गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected