
काठमाडौँ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सदस्यता विस्तार, नेट ग्रोथ र क्लब एक्सटेन्सनमा पुनः अग्रणी बन्न सम्पूर्ण लायन नेतृत्व र सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन् ।
लायन वर्ष २०२५–२०२६ को पहिलो छ महिनामा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त रिक्रुटमेन्ट लक्ष्य शतप्रतिशत पूरा हुनु गौरवको विषय भएको उल्लेख गर्दै गभर्नर पाण्डेले नेतृत्व, ऊर्जा र समर्पणका कारण डिष्ट्रिक्ट आजको यो स्थानमा आइपुगेको बताएकी हुन् ।
तर सदस्यता वृद्धि, नेट ग्रोथ र क्लब एक्सटेन्सनमा दोस्रो स्थानमा सीमित हुनु चुनौतीका रूपमा लिनुपर्ने बताउँदै उनले भनिन्, “हामी विगतमा नम्बर वान बनेर इतिहास रचिसकेका छौँ। क्षमता, अनुभव र नेतृत्व हामीसँग छ। अब अझ मजबुत एकता, प्रतिबद्धता र निरन्तरता आवश्यक छ।”
उनले आगामी दिनहरूले डिष्ट्रिक्टको भविष्य निर्धारण गर्ने निर्णायक समय भएको उल्लेख गर्दै पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, क्याबिनेट पदाधिकारी, क्लब अध्यक्ष तथा सम्पूर्ण सदस्यहरूलाई साझा लक्ष्यका लागि हातेमालो गर्न आग्रह गरिन् । “डिष्ट्रिक्ट ३२५ आई नेपाल नम्बर वान बन्न कै लागि बनेको डिष्ट्रिक्ट हो भन्ने कुरा हामी फेरि प्रमाणित गर्नेछौँ,” गभर्नर पाण्डेले विश्वास व्यक्त गरेकी छन् ।
उनले सदस्यता वृद्धि, नेट ग्रोथ र क्लब एक्सटेन्सनमा निर्विवाद रूपमा पहिलो स्थान हासिल गर्दै डिष्ट्रिक्टको गौरव र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा शिखरमा पुर्याउने संकल्पका साथ अघि बढ्न सबैलाई आह्वान समेत गरेकी छन् ।











