13Shares

पोखरा । अर्मलाकोट पर्वतीय दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । १०औँ संस्करणको पर्वतीय दौड पोखराको केआई सिंहपुलदेखि अर्मलाकोटसम्म १२ किलोमिटर दूरीमा सञ्चालन हुने पर्वतीय दौडका संयोजक जुमप्रसाद गुरुङले जानकारी दिनुभएको हो ।

माघ ९ गते बिहान ७ बजे केआई सिंहपुलबाट सुरु हुने दौड दीप बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुँदै डी गाउँ, टाँडा बिसाउने, पात्ले पार गर्दै अर्मलाकोट पुगेर सम्पन्न हुने गरी रुट तय गरिएको आयोजकले जनाएको छ ।

दौड प्रतियोगिता सम्पन्न गर्न जुम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका लागि अर्मलाकोटका पुराना बासिन्दा हाल बेलायतमा रहनुभएका महानुभावहरूको आर्थिक सहयोग रहेको आयोजकले जानकारी दिएको छ । जितबहादुर गुरुङको समन्वयमा किरण गुरुङले आर्थिक संयोजकको भूमिका निर्वाह गर्नुभएको छ ।

प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । स्वयंसेवक समिति संयोजकमा गंगाबहादुर गुरुङ, पुरस्कार व्यवस्थापन संयोजकमा ईश्वर गुरुङ, भोजन व्यवस्थापन संयोजकमा भीम गुरुङ, रुट (बाटो) व्यवस्थापन संयोजकमा उदिम गुरुङ रहनुभएको छ ।

यसैगरी यातायात व्यवस्थापन संयोजकमा पुष्प गुरुङ, संघ–संस्था समन्वय संयोजकमा बबिन गुरुङ, प्रचार–प्रसार संयोजकमा अमृत परियार, मञ्च व्यवस्थापन संयोजकमा सचिन परियार, स्वास्थ्य संयोजकमा सोम परियार तथा अतिथि सत्कार संयोजकमा सूर्य सुबेदी रहनुभएको छ । अतिथि सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिति र अर्मला आमा समूहले लिएका छन् भने सचिवालय व्यवस्थापन संयोजकमा ईश्वर गुरुङ रहनुभएको छ ।

दौड प्रतियोगितामा खुल्ला पुरुष र महिला गरी दुई श्रेणी समाबेश गरिएका छन् । महिला तथा खुल्ला पुरुषतर्फ प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई २० हजार रुपैयाँ, तृतीय हुनेलाई १५ हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अर्मलाकोट क्लबले जनाएको छ ।

त्यसैगरी वडा नम्बर १६ स्तरीय दौड प्रतियोगिता पनि आयोजना गरिनेछ । उक्त दौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

श्रीपञ्चमीको दिन आयोजना हुने कार्यक्रममा स्थानीय सिद्ध बराह (म्हउदु बराह) को भव्य पूजा समेत गरिनेछ । पर्वतीय दौडसँगै गाउँस्तरीय भलिबल प्रतियोगिता र छेलो प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले जनाएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने भलिबलतर्फ सेमिफाइनल र फाइनल खेल बाँकी रहेका छन् ।

कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको पर्वतीय दौडका संयोजक जुम गुरुङले जानकारी दिनुभएको छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected