1Shares

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने ऐतिहासिक निर्णय गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावहरूमाथि छलफल गर्दै सर्वसम्मत रूपमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको हो।

बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय सर्वसम्मत पारित गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव गरेको र उपसभापति पुष्पा भुसालले समर्थन गरेको उक्त प्रस्ताव बैठकले अनुमोदन गरेको हो।

यस्तै, आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ। प्रचार संयन्त्रलाई प्रभावकारी बनाउँदै निर्वाचन अभियानलाई सशक्त बनाउने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ।

बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गरिएको छ। साथै, पार्टीको सांगठनिक संरचना थप सुदृढ बनाउने उद्देश्यले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकका निर्णयहरू पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गर्दै पार्टी आगामी निर्वाचन र संगठन सुदृढीकरणतर्फ केन्द्रित रहेको स्पष्ट पारेका छन्।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected