२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

अर्मलाकोट पर्वतीय खुल्ला १२ कि.मी दौड सम्पन्न, सुवास गुरुङ र लाक्पा निमा शेर्पा बने विजेता

पोखरा । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोटमा आयोजित १०औँ संस्करणको अर्मलाकोट पर्वतीय खुल्ला १२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। श्रीपञ्चमीको पावन अवसर पारेर आयोजित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका धावक–धाविकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

पुरुष खुल्ला तर्फ पर्वतका सुवास गुरुङले ५० मिनेट १० सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भए। त्यसैगरी काठमाडौंका टंक कार्कीले ५० मिनेट २८ सेकेन्डमा दौड पूरा गरी दोस्रो, तनहुँका टोपबहादुर कुमालले ५० मिनेट ४७ सेकेन्डमा तेस्रो तथा सिन्धुपाल्चोकका मिङमार सिङ्गी तामाङले ५२ मिनेट ०९ सेकेन्डमा दौड पूरा गरी सान्त्वना स्थान प्राप्त गरे। विजेताहरूलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

महिला खुल्ला तर्फ ओखलढुंगाकी लाक्पा निमा शेर्पाले १ घण्टा २ मिनेट २४ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हात पारिन्। सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो, कास्की माछापुच्छ्रे गाउँपालिकाकी एन्जिला जिटी तेस्रो तथा तनहुँकी सपना गुरुङ सान्त्वना स्थानमा रहिन्। उनीहरूलाई पनि पुरुषतर्फकै बराबरको नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

पोखरा महानगरपालिका–१६ भित्रका पुरुष धावकहरूको प्रतिस्पर्धामा महेन्द्र घर्ती मगर प्रथम, रविन्द्र घर्ती मगर दोस्रो, राजित बी.के. तेस्रो तथा विशाल बी.के. सान्त्वना स्थानमा रहे। महिला तर्फ सोही वडाभित्र सादगी शर्मा प्रथम, आइतिमाया घले दोस्रो, किर्ती गौतम तेस्रो र हेमादेवी छन्त्याल सान्त्वना स्थानमा रहिन्। वडास्तरीय विजेताहरूलाई क्रमशः ८ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

विजयी धावकहरूलाई प्रतियोगिताका प्रमुख अतिथि गुमानसिंह गुरुङ, जित गुरुङ, तेज गुरुङ, अग्रज पत्रकार गंगाधर पराजुली तथा मूल आयोजक समितिका संयोजक जुमप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

पोखराको केआई सिंहपुलबाट बिहान ७ बजे सुरु भएको दौड दीप बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला, डी गाउँ, टाँडा बिसाउने, पात्ले हुँदै अर्मलाकोटमा पुगेर सम्पन्न भएको थियो। प्राकृतिक सौन्दर्य, उकालो–ओरालो र ग्रामीण बस्ती हुँदै जाने रुटले प्रतियोगितालाई थप चुनौतीपूर्ण र रोमाञ्चक बनाएको सहभागीहरूले बताएका छन्।

प्रतियोगिता सम्पन्न गर्न जुम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो। अर्मलाकोटका पुराना बासिन्दा हाल बेलायतमा बसोबास गरिरहेका महानुभावहरूको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो। आर्थिक संयोजकको भूमिकामा किरण गुरुङ र समन्वयकर्ताका रूपमा जितबहादुर गुरुङ रहेका थिए।

यस अवसरमा स्वयंसेवक, पुरस्कार, भोजन, रुट, यातायात, प्रचार–प्रसार, स्वास्थ्य, अतिथि सत्कार लगायत विभिन्न उपसमितिहरू सक्रिय रूपमा परिचालन गरिएका थिए। अतिथि सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिति र अर्मला आमा समूहले लिएका थिए।

श्रीपञ्चमीको दिन आयोजना गरिएको कार्यक्रममा स्थानीय सिद्ध बराह (म्हउदु बराह)को भव्य पूजा समेत सम्पन्न गरिएको थियो। पर्वतीय दौडसँगै गाउँस्तरीय भलिबल प्रतियोगिता र छेलो प्रतियोगिता पनि सञ्चालन गरिएका थिए।

गाउँस्तरीय भलिबल प्रतियोगितामा शिव शक्ति युवा क्लब, मौजाले अर्मला युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको छ। प्रतियोगितामा प्रथम हुने शिव शक्ति युवा क्लबले ५० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता अर्मला युवा क्लबले २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ।

यसै अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्मलाकोट गाउँ स्थायी ठेगाना भई हाल बेलायत निवासी सार्जन गुमान सिंह गुरुङको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा WO2 जित बहादुर गुरुङ सहभागी रहनुभएको थियो।

त्यसैगरी, प्रतियोगिताअन्तर्गत आयोजित छेलो प्रतियोगितामा बाग्लुङ डाँडाका दिलजुर थापा प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनले १८.२० मिटर दूरीमा छेलो फ्याँक्न सफल भएका थिए। द्वितीय स्थान हासिल गरेका मनोज गुरुङले १७.५० मिटर दूरीमा छेलो फ्याँकेका थिए।

छेलो प्रतियोगितामा प्रथम हुने दिलजुर थापालाई २० हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा भाङ्ग्रा–फेटा प्रदान गरिएको थियो भने द्वितीय हुने मनोज गुरुङलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा भाङ्ग्रा प्रदान गरिएको थियो।

कार्यक्रमको समापनमा मूल आयोजक समितिका संयोजक जुमप्रसाद गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अर्मला समाज यूके, विभिन्न संघ–संस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण स्थानीयवासीप्रति आभार प्रकट गरे।

 

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…