11Shares

पोखरा। नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष शेष महोम्मद हनिफ ‘गोरा मियाँ’को बुधबार ६४ वर्षको उमेरमा असामयिक निधन भएको छ। उहाँको निधनले नेपाल प्रेस युनियन गण्डकी प्रदेश समिति गहिरो शोकमा डुबेको छ भने यस दुःखद् घटनाले सम्पूर्ण युनियन परिवारसहित समग्र नेपाली पत्रकार समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ।

दिवंगत मियाँको पार्थिव शरीरमा नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी र महासचिव प्रकाश ढकाल, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डीपी अधिकारीलगायतले युनियनको झण्डा ओंढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै विहिवार बिदाइ गरेका थिए।

उहाँको सम्मानमा नेपाल प्रेस युनियन केन्द्रीय समिति, गण्डकी प्रदेश समिति तथा सम्बन्धित शाखाहरूले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा तय भइसकेका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्।

दिवंगत मियाँ केवल संगठनका अध्यक्ष मात्र नभई निष्ठावान, अनुशासित र जिम्मेवार पत्रकार तथा अभिभावकका रूपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो। सरल स्वभाव, मिलनसार व्यवहार, निष्पक्ष सोच र संगठनप्रतिको समर्पण उहाँका प्रमुख विशेषता थिए। उहाँप्रति युनियनकर्मीहरू मात्र नभई विभिन्न विचारधाराका पत्रकार र समाजका विविध क्षेत्रका व्यक्तिहरूले समेत गहिरो सम्मान व्यक्त गर्दै आएका थिए।

स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। दिवंगत मियाँका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।

उहाँको निधनप्रति नेपाल प्रेस युनियन गण्डकी प्रदेश समिति तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected