पर्यटन, पूर्वाधार र जनजीविका : कास्की क्षेत्र नं. ३ मा मतदाताको अपेक्षा र चुनावी बहस


पोखरा भ्यूज
पोखरा। गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ भौगोलिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो। यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका सम्पूर्ण वडासँगै पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएका छन्। विश्वव्यापी रूपमा परिचित अन्नपूर्ण आधार शिविर (एबीसी) देखि देशकै प्रमुख पर्यटकीय केन्द्र पोखराको लेकसाइडसम्म फैलिएको यो क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र आर्थिक सम्भावनाको केन्द्रका रूपमा रहेको छ।
यस निर्वाचन क्षेत्रमा पर्ने पोखरा महानगरपालिकाका वडा नम्बर १, २, ३, ५ र ६ पोखराका मुख्य व्यावसायिक तथा बजार क्षेत्र हुन्। त्यस्तै वडा नम्बर १८ सराङकोट, १९ लामाचौर–पुरनचौर, २२ पुम्दी, २३ चापाकोट, भदौरेका केही भाग, २४ कास्कीकोट र २५ हेमजा ग्रामीण विशेषता बोकेका क्षेत्रहरू हुन्। यी बजार र ग्रामीण क्षेत्रका मतदाताको अपेक्षा फरक–फरक भए पनि समग्र विकासप्रति चाहना भने समान देखिन्छ।
बजार क्षेत्रमा बसोबास गर्ने मतदाताले व्यवस्थित, सुविधा सम्पन्न र सुशासित सहरको विकासलाई प्रमुख मुद्दाका रूपमा उठाइरहेका छन्। ट्राफिक व्यवस्थापन, पार्किङ, फोहोर व्यवस्थापन, खानेपानी, ढल र सहरी पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ। अर्कोतर्फ ग्रामीण क्षेत्रमा रहेका मतदाताले महानगरलाई तिरेको करअनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन्। आधारभूत पूर्वाधार, सडक, स्वास्थ्य चौकी, विद्यालय, विद्युत् र सञ्चार सेवा अझै पनि पर्याप्त नभएको उनीहरूको भनाइ छ।
ग्रामीण क्षेत्रमा बढ्दो बाँदर समस्याले खेतीपाती नष्ट हुनुका साथै कतिपय स्थानमा बस्ती नै छाड्नुपर्ने अवस्था सिर्जना भएको छ। यस समस्याको दीर्घकालीन र वैज्ञानिक समाधानका लागि उम्मेदवारहरूबाट ठोस प्रतिबद्धता खोज्ने तयारीमा मतदाता छन्। ‘आलु गाउँ’का रूपमा पहिचान बनाएको हेमजालगायतका क्षेत्रहरूमा व्यावसायिक कृषि, भण्डारण र बजार पहुँचको व्यवस्था गर्न सकिने सम्भावना प्रशस्त रहेको स्थानीयहरूको भनाइ छ।
अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका धेरैजसो वडा अझै पनि सडक र अन्य पूर्वाधारको पर्खाइमा छन्। महानगरभित्रै रहेका वडा नम्बर २२ पुम्दी, २३ चापाकोट र २४ कास्कीकोटका केही भागहरू पनि विकासका हिसाबले पछि परेका छन्। यी क्षेत्रका स्थानीयवासी आसन्न निर्वाचनमा पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका सवाललाई मुख्य मुद्दा बनाउने बताउँछन्।
स्थानीय मतदाता तथा पत्रकार राज बहादुर गुरुङका अनुसार अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका पूर्ण रूपमा पर्वतीय पर्यटनका अपार सम्भावना बोकेका क्षेत्र हुन्। “यहाँको समृद्धिको आधार नै पर्यटन हो,” उनी भन्छन्, “पर्यटनमैत्री पूर्वाधार विकासमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ।” घान्द्रुक, छोमरोङ हुँदै माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविर विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमा पर्छन्। त्यस्तै माछापुच्छ्रे गाउँपालिकाको मर्दी पदमार्ग पनि पछिल्लो समय लोकप्रिय पदयात्रा मार्गका रूपमा स्थापित भएको छ।
तर प्राकृतिक सौन्दर्यसँगै भौगोलिक विकटता र जलवायु परिवर्तनको असरका कारण यी क्षेत्रमा चुनौती पनि बढ्दै गएका छन्। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार हिमपात, हिमआँधी र हिमपहिरोजस्ता प्राकृतिक प्रकोपले बर्सेनि जोखिम बढाइरहेका छन्। “यी चुनौतीको सामना गर्नु आजको आवश्यकता हो,” उनी भन्छन्, “विश्वकै उत्कृष्ट गन्तव्य मानिएको अन्नपूर्ण आधार शिविर पदमार्ग अझै सबै खालका पर्यटकका लागि पूर्ण रूपमा पहुँचयुक्त छैन।”
पदयात्रा मार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुलको अभाव, सञ्चार सुविधाको कमजोरी र विद्युतीकरणको समस्या गम्भीर रहेको उनले बताए। छोमरोङमाथि अन्नपूर्ण आधार शिविरसम्म राष्ट्रिय विद्युत् लाइन नपुग्नु पर्यटन विकासको ठुलो बाधा भएको उनको भनाइ छ। साथै पूजनीयम् बराह, लुम्लेस्थित कान्छी बराह, फेवातालस्थित ताल बाराहीजस्ता धार्मिक स्थलहरूले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र पनि बनाएका छन्।
पोखराको लेकसाइड र फेवातालको संरक्षण अर्को महत्त्वपूर्ण मुद्दा हो। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार पर्यटकीय विकाससँगै प्राकृतिक सुन्दरता जोगाउनु मुख्य चुनौती बनेको छ। राज्यले स्थानीयवासीलाई उचित मुआब्जा र क्षतिपूर्ति नदिई फेवातालको मापदण्ड कार्यान्वयन गर्न खोज्दा समस्या सिर्जना भएको उनको भनाइ छ। “फुटट्रेक बनाउने नाममा कतिपयको जग्गा तालभित्र पारिएको छ,” उनी भन्छन्, “मापदण्ड कार्यान्वयन गर्दा स्थानीयलाई विश्वस्त पार्नुपर्छ।”
लेकसाइड क्षेत्रका कोमागाने पार्क, बसुन्धरा पार्क, नेपाल ट्रस्ट तथा पर्यटन मन्त्रालयको खाली जग्गालाई व्यवस्थित पार्किङसहित उपयोग गर्नुपर्ने आवश्यकता उनले औंल्याए। अव्यवस्थित पार्किङका कारण लेकसाइड क्षेत्रमा ट्राफिक र व्यवस्थापन समस्या बढ्दै गएको छ। दिगो र व्यवस्थित पर्यटन विकासका लागि पर्यटनमैत्री राज्य नीति आवश्यक रहेको उनको जोड छ।
निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार यस निर्वाचन क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले)बाट दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ, नेकपाबाट गोपाल गिरीलगायत उम्मेदवार चुनावी मैदानमा छन्। एक लाख सात हजार ५६० मतदाता रहेको यस क्षेत्रमा विकास, पर्यटन र जनजीविकाका मुद्दाले चुनावी बहसलाई केन्द्रित गर्ने देखिन्छ।





















