स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको सन्देश:मितव्ययिता, सुशासन र आत्मनिर्भर प्रदेशको संकल्प
- February 5, 2026
- 108

पोखरा । गण्डकी प्रदेश स्थापनाको आठ वर्ष पूरा भई नवौँ वर्षमा प्रवेश गरेको अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक व्यवस्थाको मर्मअनुसार जनजीवनमा प्रत्यक्ष अनुभूति हुने विकास, सुशासन र मितव्ययितामा प्रदेश सरकार दृढ संकल्पित रहेको स्पष्ट पारेका छन् ।
प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गण्डकी प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुका साथै संघीय लोकतन्त्र स्थापनाका क्रममा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । आन्दोलनका क्रममा घाइते, बेपत्ता र पीडितप्रति सम्मान प्रकट गर्दै उनले शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए ।
गत वर्षदेखि प्रदेश सभा र प्रदेश सरकारले संयुक्त रूपमा आजको दिनलाई गण्डकी प्रदेश स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनको आठ वर्षमा प्रदेश संरचनाको औचित्य प्रमाणित हुँदै गएको दाबी गरे ।
मुख्यमन्त्री पाण्डेले प्रशासनिक पुनर्संरचनामार्फत ३२ वटा कार्यालय गाभेर १९ वटा एकीकृत कार्यालय स्थापना गरिएको जानकारी दिए । ३०४ भन्दा बढी दरबन्दी कटौती गरी वार्षिक करोडौँ रुपैयाँ खर्च बचत गरिएको उनको भनाइ थियो । गत भदौ २४ गतेको विनाशकारी घटनापछि पुनर्निर्माणका लागि चालू खर्चबाट १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कटौती गरी करिब २० प्रतिशत प्रशासनिक खर्च बचत गरिएको उल्लेख गरेक थिए ।
पाण्डेले तिब्बत भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भएको भेटवार्तापछि कोरोला नाका सञ्चालनमा आएको र यसले देशको राजस्वमा उल्लेखनीय योगदान पुर्याएको बताए । साथै, उपल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि लागू प्रवेश दस्तुर एकमुष्ठ ५०० डलरबाट घटाएर प्रतिदिन ५० डलर कायम गरिएको जानकारी दिएका थिए ।
प्रदेश सरकारले हालसम्म ८८ वटा कानुन, २९ नियमावली तथा अन्य मापदण्ड जारी गरिसकेको र केही विधेयक संसदमा छलफलमा रहेको बताइएको छ । गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरिएको, अपांगता भएका व्यक्ति र दलित समुदायका अधिकार सुनिश्चित गर्न छुट्टै ऐन निर्माण गरिएको मुख्यमन्त्रीले उल्लेख गरे ।
प्रदेश मातहतका १३ अस्पतालको स्तरोन्नति गरी ३ सयदेखि ८ सय शैयासम्म विस्तार गरिएको, ८२१ जना मृगौला बिरामीले नियमित डायलासिस सेवा लिइरहेको, ६९ भन्दा बढी दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्धार गरिएको जानकारी दिइयो । प्रदेश लोक सेवा आयोगमार्फत ३,५३१ जनाको पदपूर्ति भइसकेको पनि उनले बताए ।
युवा पलायन रोक्न उत्पादनमुखी नीति अवलम्बन गरिएको, घरेलु मदिरा ब्रान्डिङ, गाँजा खेतीसम्बन्धी विधेयक संसदमा छलफलमा रहेको र आलु तथा चैते धान उत्पादनमा सकारात्मक परिणाम देखिन थालेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पोखरालाई पर्यटन राजधानी घोषणा गरिएपछि पर्यटन, उद्योग र व्यापारमा सकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश संरचना खर्चालु भयो भन्ने आरोप तथ्यहीन रहेको दाबी गर्दै महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ मा कुल सार्वजनिक खर्चमध्ये प्रदेश तहको हिस्सा ४.६९ प्रतिशत मात्र रहेको भन्दै ‘प्रदेशले खायो’ भन्ने आरोप निराधार रहेको उनले बताए ।
युवा भावना, प्रश्न र सपना आत्मसात् गर्दै संवाद र सुधारको यात्रामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबैको साझा दायित्व रहेको बताए । विवेकपूर्ण मतदानबाट सक्षम र जनउत्तरदायी नेतृत्व चयन भए आगामी पाँच वर्षमा मुलुक सही दिशामा अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डेले नवौँ वर्षमा प्रवेश गर्दै विगतका कमजोरी सुधार गर्दै आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासीको लक्ष्यसहित गण्डकी प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र प्रदेशवासीको निरन्तर साथको अपेक्षा गरेका थिए ।






सम्बन्धित खवर















