0Shares

पोखरा। कास्की क्षेत्र नम्बर २ मा यतिखेर चुनावी माहोल सामान्य छैन। यहाँको प्रतिस्पर्धा नाराको भिडभन्दा धेरै स्मृति, संघर्ष र भरोसाको बहस जस्तो देखिन्छ। टोल–बस्तीमा पुग्दा मतदाताले ‘नेता’ भन्दा पहिला ‘मधुजी’ भनेर बोलाउने व्यक्तित्व हुन्—नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद बास्तोला।

राजनीति उहाँका लागि अवसरको भर्‍याङ होइन, जिम्मेवारीको यात्रा हो। यही बुझाइका कारण कास्की–२ मा उहाँको चुनावी उपस्थितिले फरक तरंग सिर्जना गरेको छ।

वि.सं. २०३६ साल जनमत संग्रहको घोषणाले देश तताइरहेको समय थियो। पोखरामा भएको विशाल आमसभामा दाजुको पछि लागेर पुगेका बालक माधव बास्तोला त्यहीँबाट राजनीतिमा प्रवेश गरे। “कानुनभन्दा माथि राजा हुन सक्दैनन्, देशलाई बहुदलीय प्रजातन्त्र चाहिन्छ”—स्व. विपी कोइरालाका ती शब्दले उहाँको जीवनदिशा तय गरिदियो।

त्यसपछि विद्यार्थी राजनीतिदेखि काँग्रेसको क्रियाशील सदस्य, २०४६ को जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलनसम्म उहाँ निरन्तर अग्रपंक्तिमा देखिनुभयो। जागिरको प्रलोभन र दबाबलाई अस्वीकार गर्दै राजनीति रोज्नु उहाँको सचेत निर्णय थियो।

प्रजातन्त्र पुनःस्थापनापछि वडा तहबाट संगठन विस्तारमा लाग्नुभएका बास्तोला २०५४ सालमा पोखरा–११ का वडाध्यक्षमा निर्वाचित भए। सीमित स्रोत–साधनबीच पनि सडक, खानेपानी, सामुदायिक विकास र सामाजिक न्यायका सवालमा देखाएको सक्रियताले उहाँलाई जनप्रतिनिधिका रूपमा चिनायो। द्वन्द्वकालका वर्षहरूमा निर्वाचन नहुँदा पनि उहाँ जनसेवाबाट टाढा हुनु भएन।

२०६७ असोज ६ गते मुग्लिन–कुरिनटारको रमाइलो डाँडामा भएको सवारी दुर्घटनाले बास्तोलाको जीवनलाई ठहरै रोकिदियो। चार जना सहयात्रीको ज्यान गयो। उहाँ आफैँ गम्भीर घाइते हुनुभयो—टाउकोमा गहिरो चोट, सात वटा करङ भाँचिएको अवस्था थियो । झण्डै एक वर्ष लामो उपचारपछि बास्तोला पुनः समाजमा फर्किए। “त्यस दिनपछि राजनीति मेरो लागि झन् जिम्मेवारी बन्यो,” उहाँ भन्नुहुन्छ, “देश र जनताको सेवाका लागि नै ईश्वरले मलाई बचाउनुभएको हो।”

१२औँ र १३औँ महाधिवेशनबाट कास्की–२ का क्षेत्रीय सभापति बनेका बास्तोलाले दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे। उम्मेदवारी नपाउँदा पनि पार्टी नछोड्ने, अवसर नआउँदा पनि संगठन नत्याग्ने उहाँको निष्ठाले आज पार्टीभित्र व्यापक भरोसा सिर्जना गरेको छ। हाल उहाँ नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ताको जिम्मेवारीमा रहनुभएको छ।

फूलबारी क्लबको स्थापना, शिवशक्ति माध्यमिक विद्यालय तथा क्याम्पसको अध्यक्षका रूपमा शैक्षिक पूर्वाधार विकास, मन्दिर, सडक, सामुदायिक वन र खानेपानी आयोजनामा बास्तोलाको भूमिका उल्लेखनीय छ।
यही कारण उहाँलाई कास्की–२ का मतदाताले ‘कागजको नेता’ होइन, देखिएको र भोगिएको प्रतिनिधिका रूपमा चिन्छन्।

पोखरालाई पर्यटकीय राजधानी का रूपमा विकास गर्ने, फोहर व्यवस्थापनलाई ऊर्जा र रोजगारी सँग जोड्ने, शिक्षा र स्वास्थ्यलाई राष्ट्रिय हब बनाउने, युवालाई स्वदेशमै रोजगारी, सेवा प्रवाहमा भ्रष्टाचार अन्त्य उहाँका प्रमुख एजेन्डा हुन्। निर्वाचन प्रणाली सुधार र समयसापेक्ष संविधान संशोधनको बहसलाई संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

“मेरो पुँजी भनेकै इमानदारी हो,” बास्तोला भन्छन्। कास्की–२ मा यो निर्वाचन केवल दलहरूबीचको प्रतिस्पर्धा मात्र होइन, निष्ठा, स्मृति र भरोसाको मूल्यांकन पनि हो। अब निर्णय मतदाताको हातमा छ, मृत्युलाई जितेर फर्किएको राजनीतिक यात्रालाई जनमतबाट अनुमोदन गर्ने कि नगर्ने।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected