5Shares

भरतपुर, चितवन । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो क्याबिनेट बैठक शनिबार चितवनस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन्न भएको छ । डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न बैठक करिब १ हजार १०० भन्दा बढी लायन्स सदस्यहरूको उत्साहपूर्ण सहभागितासँगै सेवा, नेतृत्व र दीर्घकालीन रणनीतिका महत्वपूर्ण निर्णयका कारण ऐतिहासिक र प्रभावकारी बनेको छ ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले वर्तमान समाज गम्भीर चुनौतीको चरणमा रहेको उल्लेख गर्दै प्रविधि, विशेषतः एआईको दुरुपयोग, गलत जीवनशैली र स्वार्थले समाज दूषित बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । समाज स्वार्थ र सर्तमा जलिरहेको अवस्थामा कर्मचारी संयन्त्र मात्रले परिवर्तन सम्भव नहुने भन्दै उनले लायन्सजस्ता सेवामूलक संस्थाको भूमिका झनै महत्वपूर्ण बनेको स्पष्ट पारे । “तपाईंहरूको सोच, अभिव्यक्ति र सेवाभावले समाज रूपान्तरण सम्भव छ,” उनले भने ।

पूर्व डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्टले प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानको परिचय गराउँदै उनको नेतृत्व, व्यक्तित्व र योगदानमाथि प्रकाश पारे । त्यसपछि मन्तव्य राख्दै खेतानले प्रतिबद्धता र स्पष्ट लक्ष्य भए असम्भव केही नहुने धारणा व्यक्त गरे । उनले डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटाको नेतृत्वको प्रशंसा गर्दै लायन्स अन्तर्राष्ट्रियको मिसन १.५ अभियानअन्तर्गत डिष्ट्रिक्ट ३२५ आर नेपाल एक हजार सदस्य वृद्धिको लक्ष्य नजिक पुगेकोमा बधाई ज्ञापन गरे ।

कार्यक्रममा लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका लायन्स म्यागेजिनका प्रधान सम्पादक तथा पूर्व डिष्ट्रिक्ट गर्भनर डिके ढुंगानाले “हामी किन लायन्स बन्ने ?” विषयमा गहन, प्रेरणादायी र दार्शनिक प्रस्तुति दिए । समाज रूपान्तरणमा लायन्स अभियानको भूमिकालाई जीवन दर्शनसँग जोड्दै प्रस्तुत गरिएको उनको प्रस्तुतिले सहभागीहरूलाई संस्थागत उत्तरदायित्वबारे गहिरो दृष्टिकोण प्रदान गरेको थियो ।

डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटाले संगठनमा अनुशासन, निरन्तरता र सेवा संस्कृतिलाई अझ सबल बनाउँदै ‘एकता, सेवा र समर्पण’लाई डिष्ट्रिक्ट सञ्चालनको मूल आधार बनाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संगठन सुदृढीकरण तथा लायन्स अन्तर्राष्ट्रियको मिसन १.५ अनुरूप उत्कृष्ट सेवा प्रदान गर्ने सदस्यहरूलाई लायन्स अन्तर्राष्ट्रिय प्रेसिडेन्सी मेडल, लिडरशिप मेडल, डिष्ट्रिक्ट गर्भनर मेडल तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
गर्भनर सापकोटाले सम्मानित क्लब अध्यक्ष तथा सदस्यहरूलाई बधाई दिँदै भने, “तपाईंहरूको प्रतिबद्धता र सेवाभावले हाम्रो डिष्ट्रिक्टको गरिमा र प्रतिष्ठा अझ उचो बनेको छ ।”

डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी डा. गंगा सापकोटाको संचालन रहेको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापा, निवर्तमान डिष्ट्रिक्ट गर्भनर दिनानाथ न्यौपाने, प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर प्रभाकर पण्डित र दीपेन्द्र प्रसाद खतिवडालगायत वक्ताहरूले सेवा अभियानमा सबैको सक्रिय सहभागिताप्रति आभार व्यक्त गरे ।

सेक्रेटरी डा. गंगा सापकोटाका अनुसार बैठकले संगठन सुदृढीकरण, सदस्य विकास, सेवा विस्तार तथा लायन्स अन्तर्राष्ट्रियको दीर्घकालीन लक्ष्यअनुरूप अघि बढ्ने स्पष्ट मार्गचित्र तय गरेको छ ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected