पोखराबाट कांग्रेस सभापति थापाको स्पष्ट सन्देशः “देश सम्हाल्ने शक्ति कांग्रेस हो, अबकी बार सय पार”

पोखरा। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलो पटक पोखरा आएका गगनकुमार थापाले गण्डकी प्रदेशका नेता–कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्दै आसन्न निर्वाचनलाई निर्णायक बनाउने स्पष्ट सन्देश दिएका छन्। मुलुक चरम निराशा, आक्रोश र अविश्वासको भुमरीमा फसेको उल्लेख गर्दै उनले देशलाई सुरक्षित अवतरण गराउन सक्ने एकमात्र जिम्मेवार शक्ति नेपाली कांग्रेस भएको दाबी गरे।
काठमाडौँबाट विमानमार्फत पोखरा पुगेका सभापति थापा सर्वप्रथम नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालय पुगेका थिए। त्यहाँ आगन्तुक पुस्तिकामा सन्देश लेखेपछि उनी कास्की कांग्रेसको कार्यालयमा पुगेर कार्यकर्ता भेलालाई सम्बोधन गरे। त्यसपछि पोखराको न्युरोडमा आयोजित गण्डकी प्रदेश कार्यसमितिको बैठकमा सहभागी हुँदै उनले प्रदेशभरका नेता–कार्यकर्तालाई चुनावी रणनीति र संगठनात्मक दायित्वबारे स्पष्ट निर्देशन दिए।
बैठकपछि थापाले गण्डकीका विभिन्न जिल्लाबाट आएका सम्भावित उम्मेदवार, नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै भेटघाट गर्दै पार्टीको अवस्था, जनताको मनोदशा र चुनावी चुनौतीबारे सुझाव संकलन गरे।

“आगो लगाउन जो–कोही सक्छ, निभाउन कांग्रेस चाहिन्छ”
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजनाको राजनीतिलाई अस्वीकार गर्दै धैर्य, चेतना र जिम्मेवारीको राजनीति आवश्यक भएको बताए।
“अहिले समाजभित्र गहिरो रीस छ, राज्यका संस्थाप्रति चरम अविश्वास छ,” उनले भने, “यस्तो संवेदनशील अवस्थामा देश सम्हाल्न सक्ने शक्ति चाहिन्छ। आगो लगाउन जो–कोही सक्छ, निभाउन धैर्यता र क्षमता चाहिन्छ। त्यो शक्ति नेपाली कांग्रेस हो।”
उनले कांग्रेसको चरित्र नै ‘मिलाउने, सम्हाल्ने र निकास दिने’ भएको उल्लेख गर्दै कुनै पनि प्रकारको घृणा, प्रतिशोध र अतिवादको राजनीतिमा कांग्रेस जान नसक्ने स्पष्ट पारे।
चुनावी नारा स्पष्टः अबकी बार सय पार
सभापति थापाले कार्यकर्तालाई अब पुरानो शैलीको नारा त्याग्न आग्रह गर्दै नयाँ लक्ष्यसहित अघि बढ्न निर्देशन दिए। “अब ‘कांग्रेसको सरकार’ भन्ने नारा पर्याप्त छैन,” उनले भने, “नारा नै लगाउने हो भने अबकी बार सय पार भनेर लगाऔँ।”
उनले यसपटक कांग्रेसलाई बहुमतसम्म पुर्याउन सकिने दृढ विश्वास व्यक्त गरे। “सकिन्छ, मज्जाले सकिन्छ,” भन्दै उनले थपे, “तर त्यसका लागि पार्टीको हरेक सदस्यले आफू उम्मेदवार हुँ भन्ने ठानेर काम गर्नुपर्छ।”
गठबन्धन छैन, सम्झौता छैन
सभापति थापाले आसन्न निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नहुने स्पष्ट अडान दोहोर्याए। साथै, चुनावपछिको सरकार निर्माण वा सत्ता टिकाउनका लागि पनि कुनै दलसँग सम्झौता नहुने बताए।
उनले चेतावनी दिंदै भने, “यदि कांग्रेसले यो चुनाव जित्न सकेन भने लोकतान्त्रिक व्यवस्था, शासन प्रणाली र राष्ट्रिय हितमाथि नै थप चुनौती सिर्जना हुन्छ।”
‘बदलिएको कांग्रेस’ बारे कार्यकर्ताको प्रश्न
कार्यकर्ताहरूले ‘कांग्रेस बदलिएको’ भन्ने नाराले प्राथमिकता पाए पनि तल्लो तहसम्म त्यो अनुभूति नपाएको गुनासो राखे। साथै, विदेशमा रहेका नेपाली, युवा पुस्ता र पछिल्लो समय मौन देखिएका नेताहरूलाई सक्रिय बनाउने वातावरण बनाउन नेतृत्वले विशेष पहल गर्नुपर्ने माग गरे।
यसको जवाफमा सभापति थापाले ‘नयाँ कांग्रेस’ भनेको पुरानो पुस्तासँग सम्बन्ध विच्छेद होइन, इतिहास र गौरव जोगाउँदै नयाँ पुस्ताको ऊर्जा र अनुभवलाई जोडेर अघि बढ्ने अवधारणा भएको स्पष्ट पारे। “कांग्रेस एउटा गहिरो जरा गाडिएको रुख हो,” उनले भने, “जरा जोगाएर अहंकारका केही पात मात्रै हटाउनुपर्छ।”
गुट अन्त्य, नेतृत्व स्पष्ट
विशेष महाधिवेशनपछि पार्टीभित्र कुनै गुट नरहेको दाबी गर्दै सभापति थापाले पार्टीको वैधानिकताबारे अदालतमा रहेको मुद्दाले नेतृत्वमा कुनै असर नपार्ने स्पष्ट पारे।
“विधिवत रूपमा विशेष महाधिवेशन भएको हो,” उनले भने, “अब अदालतबाट केही हुँदैन। म सभापतिको रूपमा नेतृत्व गरिरहेको छु र निरन्तरता दिन्छु।”
सभापति थापा साँझ काठमाडौँ फर्किए पनि पोखराबाट दिएको उनको सन्देश स्पष्ट थियो— देश सम्हाल्ने जिम्मेवारी कांग्रेसको काँधमा छ, र त्यसको फैसला आगामी निर्वाचनले गर्नेछ।






सम्बन्धित खवर















