लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर पदमा सूर्यकुमार केसीको उम्मेदवारी

प्रथम र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा शैलेन्द्र मोहन भट्टराई र विष्णु प्रसाद भण्डारी
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालको लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा काठमाडौंका सूर्यकुमार के.सी. ले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। सोही अवसरमा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा पोखराका शैलेन्द्र मोहन भट्टराई र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाडौंका विष्णु प्रसाद भण्डारीले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका सिनियर नेतृत्वको उपस्थितिमा डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो जिल्ला अधिवेशनको नोमिनेशन कमिटीका चेयरपर्सन, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल समक्ष तीनै जनाले मनोनयन पत्र बुझाउँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

मनोनयन दर्ता कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका एलसिआइएफ एरिया लिडर आईडि इन्डोर्सी राजन लम्साल, वर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार के.सी., राम बहादुर बसेललगायत डिष्ट्रिक्टका सिनियर लायन नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो जिल्ला अधिवेशन आगामी चैत्र ७ गते काठमाडौंमा हुँदैछ। उक्त अधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर चयन हुनेछन्।
हाल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत काठमाडौंसहित १२ जिल्ला समेटिएका छन्, जहाँ करिब २७० लायन्स क्लब र करिब ५ हजार सदस्य आबद्ध छन्। रि–डिष्ट्रिक्टपछि नेपालमा कायम १५ डिष्ट्रिक्टमध्ये क्लब संख्या र सदस्यको दृष्टिले डिष्ट्रिक्ट ३२५ आई नेपालकै ठूलो डिष्ट्रिक्टका रूपमा परिचित छ।
को हुन् लायन सूर्यकुमार के.सी. ?
सेवामूलक नेतृत्वको परिचायक व्यक्तित्व

सूर्यकुमार के.सी. सामाजिक सेवा, संगठन विस्तार र नेतृत्व विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका लायन्स आन्दोलनका एक प्रभावशाली तथा अनुभवी व्यक्तित्व हुन्। सन् २०१३ मा लायन्स क्लब अफ काठमाडौं साकुरा गठन गरी संस्थापक प्रथम उपाध्यक्षका रूपमा लायनवादमा प्रवेश गरेका उनी विगत १३ वर्षदेखि निरन्तर रूपमा लायन्स अभियानमा सक्रिय छन्।
टोखा नगरपालिका–८, काठमाडौंमा जन्मिएका के.सी. गोविन्द बहादुर के.सी. र माता दुर्गा के.सी. का सुपुत्र हुन्। उनका श्रीमती संगीता के.सी., छोरा आयुष के.सी. र छोरी मुस्कान के.सी. छन्।
उनको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं साकुराले समाजसेवाका विविध क्षेत्रमा उदाहरणीय कार्य गर्दै काठमाडौं क्षेत्रका अग्रणी क्लबमध्ये आफ्नो पहिचान स्थापित गरेको छ। संगठन विस्तारमा विशेष योगदान पुर्याएका के.सी. १३ वटा लायन्स क्लबका एक्सटेन्सन चेयरपर्सन तथा २१ वटा क्लबका गाइडिङ लायनका रूपमा कार्यरत रहिसकेका छन्।
एलसिआइएफ डोनर, टियु ब्लड बैंकका संस्थापक सदस्य, नेपाल लायन्स फाउन्डेसनका लिड डोनर जस्ता गरिमामय पहिचानले उनको सेवाभावलाई अझ मजबुत बनाएको छ। हाल प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारी सम्हालिरहेका उनी योजनाबद्धता, पारदर्शिता, स्पष्ट दृष्टिकोण र दृढ संकल्पका कारण डिष्ट्रिक्टलाई नयाँ उचाइमा पुर्याउन सक्षम नेतृत्वकर्ता मानिन्छन्।
प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा
अनुभवी नेतृत्वकर्ता लायन शैलेन्द्र मोहन भट्टराई

लायन वर्ष २०२६/२७ का लागि प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराई (पीएमजेएफ) लायन्स आन्दोलनका एक अनुभवी, कर्मठ र समर्पित व्यक्तित्व हुन्। वि.सं. २०२४ वैशाख १४ गते जन्मिएका भट्टराई सन् १९९९ मा लायन्स क्लब अफ लेखनाथबाट चार्टर सदस्यका रूपमा लायनवादमा प्रवेश गरेका हुन्।
क्लब अध्यक्ष हुँदै डिष्ट्रिक्टका विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका भट्टराई हाल लायन वर्ष २०२५/२६ का लागि द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरको भूमिकामा छन्। रक्तदान, स्वास्थ्य, शिक्षा र नेतृत्व विकासका क्षेत्रमा सक्रिय उनी लायन्स ब्लड बैंकका संस्थापक सदस्य तथा ‘पढौँ अभियान’का प्रमुख दाता समेत हुन्।
अन्तर्राष्ट्रिय सम्मेलन तथा ISSAME फोरममा निरन्तर सहभागिता जनाउँदै आएका भट्टराईको अनुभव डिष्ट्रिक्ट नेतृत्वका लागि महत्वपूर्ण मानिएको छ।
द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा
समाजसेवा र नेतृत्वको सशक्त उदाहरण विष्णु प्रसाद भण्डारी

विष्णु प्रसाद भण्डारी लायन्स आन्दोलनका एक समर्पित, अनुभवी र प्रभावशाली नेतृत्वकर्ता हुन्। सन् २०१० देखि लायनवादमा सक्रिय भण्डारी लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्ष रहिसकेका छन्।
हाल चीफ एड्भाइजर (२०२५/२६) को भूमिकामा रहेका उनले क्लबदेखि डिष्ट्रिक्ट तहसम्म नेतृत्व गर्दै स्वास्थ्य, शिक्षा र मानवीय सेवाका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरेका छन्। एलसिआइएफ पीएमजेएफ, नेपाल लायन्स फाउन्डेसन प्लेटिनम डोनर तथा जिल्ला भवनका लिड डोनरका रूपमा उनको योगदान उल्लेखनीय छ।
अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका भण्डारी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित छन्।
लायन्स आन्दोलनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धतासहित प्रस्तुत तीनै उम्मेदवारप्रति डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन सदस्यहरूबाट शत प्रतिशत मतको अपेक्षा गरिएको छ।





















