लायन्स डिष्ट्रिक्ट ३२५ आई नेतृत्व चयनतर्फ: पोखरामा गभर्नर टिमको शतप्रतिशत ‘एस भोट’ अभियान

पोखरा भ्यूज।
पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालको आसन्न चौथो डिष्ट्रिक्ट कन्भेन्सनलाई लक्षित गर्दै डिष्ट्रिक्ट गभर्नर टिमका उम्मेदवारहरूको भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम तीव्र बनेको छ।
यसअघि मंगलबार काठमाडौंमा लायन वर्ष २०२६/२७ का लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले बुधबार पोखरामा रहेका लायन्स लिडरहरूसँग भेटघाट गर्दै शतप्रतिशत ‘एस भोट’को अपिल गरेका छन्।
लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा काठमाडौंका सूर्यकुमार के.सी., प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा पोखराका शैलेन्द्र मोहन भट्टराई तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाडौंका विष्णु प्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

लायन्स क्लब अफ काठमाडौं साकुराको आतिथ्यतामा पोखरामा सम्पन्न कार्यक्रममा उम्मेदवारहरूले उपस्थित लायन्स प्रतिनिधिहरू समक्ष शतप्रतिशत ‘एस भोट’का लागि आग्रह गरेका हुन्। आगामी चैत ७ गते काठमाडौंमा हुने चौथो डिष्ट्रिक्ट कन्भेन्सनबाट डिष्ट्रिक्ट ३२५ आई नेपालको नयाँ नेतृत्व चयन हुनेछ।
डिष्ट्रिक्ट ३२५ आई नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङसहित गण्डकी र धवलागिरी क्षेत्रका १२ जिल्लामा फैलिएका करिब २७० लायन्स क्लब र ५ हजारभन्दा बढी सदस्य आबद्ध छन्। लायन्स अन्तर्राष्ट्रिय प्रावधानअनुसार डिष्ट्रिक्ट गभर्नर तथा भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारले शतप्रतिशत ‘एस भोट’ प्राप्त गर्नुपर्ने व्यवस्था छ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार सूर्यकुमार के.सी.ले डिष्ट्रिक्ट ३२५ आईले विगतमा विश्वस्तरमै उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले सेवा, सदस्य विस्तार र नेतृत्व विकासलाई केन्द्रमा राख्दै स्वास्थ्य शिविर, रक्तदान, महिला सशक्तीकरण, युवा तथा सीप विकासलगायत कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए।
Mission 1.5 अन्तर्गत नयाँ क्लब तथा सदस्य विस्तार, तालिम तथा प्रशिक्षण, LCIF र NLF मा योगदान वृद्धि, डिजिटल रिपोर्टिङ प्रणाली सुदृढीकरण, कमजोर क्लबलाई बलियो बनाउने, आजीवन सदस्यता प्रवर्द्धन, काठमाडौं र पोखरामा स्थायी सचिवालय स्थापना तथा आपतकालीन कोष निर्माणलाई आफ्नो कार्ययोजनाका मुख्य आधारका रूपमा प्रस्तुत गरे।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराईले सक्षम नेतृत्वको मार्गदर्शनमा काम गर्ने अवसर पाएकोमा गर्व व्यक्त गर्दै डिष्ट्रिक्ट गभर्नरको अभियानलाई सफल बनाउन पूर्ण सहयोग रहने बताए। त्यस्तै द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार विष्णु प्रसाद भण्डारीले गभर्नर टिमका सबै कार्यक्रमहरूमा तन, मन, वचन र कर्मले साथ दिने प्रतिबद्धता जनाए।

लायन्स क्लब अफ काठमाडौं साकुराका अध्यक्ष रघुनाथ सिलवालको अध्यक्षता तथा एलसिआइएफ एरिया लिडर आईडी इन्डोर्सी राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू चन्द्रकुमार के.सी., राम बहादुर बसेल, इन्दु लम्साललगायत सिनियर लायन नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एलसिआइएफ एरिया लिडर आईडी इन्डोर्सी राजन लम्साल, वर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू राम बहादुर बसेल र चन्द्रकुमार केसी, डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर युवराज खनाल, एरिया को–अर्डिनेटर सूर्य चपाई, जोन चेयरपर्सन विष्णु प्रसाद लामिछाने तथा पोखरास्थित सम्पूर्ण क्लब अध्यक्षहरूको तर्फबाट अंजना गोशालीले संयुक्त रूपमा लायन्स आन्दोलनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै तीनै उम्मेदवारलाई शतप्रतिशत मत दिन आह्वान गरेका हुन्। वक्ताहरूले डिष्ट्रिक्ट ३२५ आईले विगतमा हासिल गरेको गरिमा र पहिचानलाई निरन्तरता दिन अनुभवी, सक्षम र एकताबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै प्रस्तुत गभर्नर टिम त्यसका लागि उपयुक्त रहेको धारणा व्यक्त गरे।

डिष्ट्रिक्ट चिफ अनुज कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन लायन्स क्लब अफ काठमाडौं साकुराका पूर्व अध्यक्ष तीर्थमान सिंहले गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका सचिव क्षितिज पौडेलले ध्वजाको अभिवादन पाठ गरेका थिए।
कार्यक्रममा तीनै उम्मेदवारको औपचारिक परिचय पनि गराइएको थियो। द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार विष्णु प्रसाद भण्डारीको परिचय लायन्स क्लब अफ काठमाडौंका पूर्व अध्यक्ष एल.पी. कट्टेलले गराएका थिए। प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराईको परिचय लायन्स क्लब अफ लेखनाथका अध्यक्ष बोधराज लामिछानेले गराएका थिए भने डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार सूर्यकुमार के.सी.को परिचय लायन्स क्लब अफ काठमाडौं साकुराका पूर्व अध्यक्ष शिवकुमार काफलेले गराएका थिए।





















