1Shares

राजेन्द्र रानाभाट
पोखरा–२६, कालिकाचोक

आज अलिकति रक्सी पिएको थिएँ। सायद त्यसैले होला, मन अचानक अतीततिर फर्कियो। युट्युबमा पुराना फिल्महरू खोज्दै गर्दा एउटा परिचित नाम आँखामा पर्‍यो— सडक। त्यो नामले मलाई तुरुन्तै एउटा प्रिय गीततिर डोर्‍यायो— “तुमी अपने बनाने की कसम खा ली है…”। गीतसँगै मेरा स्मृतिहरू ९० को दशकतिर फर्किए, जहाँ मेरा बाल्यकालका अमिट अनुभवहरू आज पनि जीवन्त छन्।

म पढाइमा कमजोर थिएँ, रुचि पनि थिएन। यो कुनै बहाना होइन, मेरो यथार्थ हो। म अहिले पनि अपाङ्ग छु, र त्यो बेला पनि थिएँ। शारीरिक रूपमा कमजोर, वाकरको सहारामा मात्र हिँड्न सक्ने। यस्ता सीमितताबीच पनि हाम्रो पुस्ताको सबैभन्दा ठूलो मनोरञ्जनको साधन थियो—हिन्दी चलचित्र।

आजका पुस्तालाई सायद विश्वास गर्न गाह्रो पर्ला—हामी २० देखि ५० जनासम्म एउटै टिभी अगाडि भेला भएर फिल्म हेर्थ्यौं। पाँच रुपैयाँ तिरेर फिल्म हेर्न पाउनु सामान्य कुरा थिएन; त्यो हाम्रो लागि उत्सवसरह हुन्थ्यो।

नेपाल टेलिभिजनमा हिन्दी फिल्म प्रसारण हुने दिन त झन् पर्वजस्तै हुन्थ्यो। टिभी नभएका हामीहरू कसैको घर, पसल वा चौतारोमा जम्मा हुन्थ्यौं। काँक्रो चपाउँदै, त्यसको सससँगै फिल्म हेर्दाको त्यो सामूहिक रमाइलो आज पनि स्मृतिमा ताजै छ।

अपाङ्ग भएकै कारण दाइले मेरो लागि धेरै दुःख सहनुभयो। उहाँको त्याग र धैर्य सम्झँदा आज पनि मन भरिन्छ। अडियो क्यासेट सुन्न मन लाग्दा म आफूले साथीसरह मानेको एक जना दाजुको घर वाकरको सहारामा पुग्थें। तर टिभी हेर्न जाने अनुभव भने कहिलेकाहीँ पीडादायक हुन्थ्यो।

हामी पुगेको देख्नासाथ कतिपय घरमा ढोका बन्द हुन्थ्यो। कहिलेकाहीँ घण्टौँसम्म बाहिर उभिएर पर्खनुपर्थ्यो। त्यो मौन अपमान र बेवास्ताको अनुभूति बालमनका लागि गहिरो चोट थियो।

तर दाइ कहिल्यै हार मान्नुहुन्नथ्यो। कहिले पिठ्यूँमा बोकेर, कहिले हात समाएर—उहाँ मलाई टिभी हेर्न लैजानुहुन्थ्यो। उहाँको माया, समर्पण र संघर्ष मेरो जीवनको सबैभन्दा ठूलो पाठ बनेको छ।

पाँच जना साथीहरू भेला भएर गफ गर्ने, गीत गाउने र भविष्यका सपनाहरू बाँड्ने ती दिनहरू आजको प्रविधिले भरिएको तर संवेदनाहीन समयको तुलनामा झन् मूल्यवान् लाग्छन्।

आजका पुस्तालाई यी कुरा पौराणिक जस्ता लाग्न सक्छन्। तर मेरा लागि ती क्षणहरू केवल सम्झना होइनन्—तिनैले ९० को दशकलाई जीवन्त बनाएका छन् र मेरो जीवनलाई अर्थ दिएका छन्।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected