1Shares

पोखरा । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. बुद्धि मल्ल नियुक्त भएका छन्। फाइनान्सको सञ्चालक समितिको निर्णयअनुसार उनले आगामी फागुन १ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

रिलायन्स फाइनान्समा आउनुअघि डा. मल्ल एनएमबी बैंकमा सहायक महाप्रबन्धक तथा विभागीय प्रमुखका रूपमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताएका मल्लसँग कुल ३२ वर्षको व्यावसायिक अनुभव रहेको छ, जसमा २६ वर्ष बैंकिङ क्षेत्रमै केन्द्रित रहेको छ।

उनले यसअघि ओम फाइनान्स लिमिटेड र राइजिङ डेभलपमेन्ट बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा सफल नेतृत्व प्रदान गरिसकेका छन्। साथै, ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा डेपुटी सीईओ (दोस्रो वरीयता) को जिम्मेवारी समेत सम्हालेका थिए।

‘क’ वर्गको बैंकदेखि विकास बैंक र फाइनान्स कम्पनीसम्मको अनुभवले उनलाई थप परिपक्व र सक्षम बनाएको बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ। पछिल्लो समय एनएमबी बैंकमा काम गर्दा प्राप्त अनुभवले उनको नेतृत्व क्षमतामा थप निखार आएको बताइन्छ।

बैंकिङ करियरकै दौरान उनले क्रेडिट रिस्क म्यानेजमेन्ट विषयमा विद्यावारिधी (पीएचडी) पूरा गरेका छन्। बैंकिङसँगै उनी एक स्थापित लेखक र स्तम्भकार पनि हुन्। उनले प्रेरणात्मक पुस्तक ‘सफलता सम्भव छ’ लेखेका छन् भने दोस्रो पुस्तक ‘सपना साकार हुन्छन्’ छिट्टै प्रकाशन हुने तयारीमा रहेको जानकारी दिएका छन्।

डा. मल्लको जीवनयात्रा परम्परागत बैंकिङ करियरभन्दा फरक छ। कुनै समय वैदेशिक रोजगारीका लागि कतारमा पाँच वर्ष बिताएका उनले स्वदेश फर्किएपछि एक वर्ष शिक्षण पेशा समेत गरेका थिए। “मेरो जीवनको एउटा पाटो वैदेशिक रोजगारी पनि हो,” उनी भन्छन्।

खाडी मुलुकमा आर्जन गरेको ज्ञान, सीप र अनुशासनलाई नेपाली बैंकिङ क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्दै आएका मल्ललाई एक गतिशील र योजनामुखी बैंकरका रूपमा चिनिन्छ। रिलायन्स फाइनान्समा उनको प्रवेशलाई बैंकिङ क्षेत्रमा चासोका साथ हेरिएको छ। अब उनको नेतृत्वमा संस्थाले कस्तो गति लिन्छ भन्नेमा सबैको नजर केन्द्रित छ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected