0Shares

पोखरा । कास्की–३ का नेपाली कांग्रेसका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार मनोज गुरुङले बदलिएको नेपाली कांग्रेसप्रति जनताको भरोसा क्रमशः बढ्दै गएको बताएका छन्। निर्वाचन प्रचार–प्रसारका क्रममा माछापुच्छ्रे गाउँपालिका–६ र ७ मा आयोजित विभिन्न कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

माछापुच्छ्रे–६ अन्तर्गत अस्ताम, हेम्जाकोट, नुवागाउँ, धिताल, ओखारीलगायतका टोलहरूमा घरदैलो भेटघाट तथा कोणसभाहरू सम्पन्न भएका छन्। त्यसैगरी माछापुच्छ्रे–७ धम्पुसमा निर्वाचन लक्षित सम्पर्क कार्यालय उद्घाटनसहित कोण सभा आयोजना गरिएको थियो।

वडा सभापति सुकबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उम्मेदवार गुरुङले वर्तमान अन्योलपूर्ण राजनीतिक अवस्थाबाट देशलाई निकास दिन कांग्रेसको सरकार आवश्यक रहेको बताए। उनले प्रतिनिधिसभामा कांग्रेसलाई जिताउनु अपरिहार्य रहेको उल्लेख गर्दै पर्यटन, कृषि, भू–उपयोगलगायतका विषयहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए।

गुरुङले आफू पदमा नहुँदासमेत विकासका काममा निरन्तर सक्रिय रहेको र अब जनप्रतिनिधिका रूपमा झनै जिम्मेवार भएर काम गर्ने स्पष्ट पारे। “म आश्वासन बाँड्न होइन, काम गर्न आएको हुँ। जनताको सेवक भएर इमान्दारीपूर्वक काम गर्ने मेरो लक्ष्य हो,” उनले भने।

कार्यक्रममा समानुपातिक उम्मेदवार आइबहादुर गुरुङले लामो समयदेखि समाजसेवा र पार्टी संगठनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पार्टीले न्याय गरेर समानुपातिक उम्मेदवार बनाएकोमा आभार व्यक्त गरे। उनले जनताका मुद्दा नीतिगत रूपमा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

सभामा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका उप-सभापति एवम् निर्वाचन प्रचार–प्रसार संयोजक युवराज कुँवर, महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री, पालिका उपाध्यक्ष सीता अधिकारी, दलित संघका केन्द्रीय सदस्य मनबहादुर बिकलगायतले रुख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउन आग्रह गरे। उनीहरूले वर्तमान राष्ट्रिय परिस्थितिमा देशको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम एकमात्र पार्टी कांग्रेस भएकोमा जोड दिए।

कार्यक्रममा उपसभापति खरेलाल भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सचिव लोकबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected