लेखनाथ, १० फागुन – तिलक रानाभाट ले लेखनाथ रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार रानाभाटले प्रचारप्रसार अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २९ का विभिन्न टोल तथा आमा समूहहरूसँग भेटघाट तथा सुझाव संकलन गरेका हुन्।
वडा नम्बर २९ अन्तर्गतका युवा क्लब, आमा समूह तथा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै उनले अत्यन्त सम्भावना बोकेको लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सक्ने संरचनामा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। “निर्वाचनमा विजयी भएपश्चात मेरो पहिलो प्रस्ताव नै राष्ट्रिय स्तरको, पूर्ण प्याराफिटसहितको रङ्गशाला निर्माण अगाडि बढाउने हुनेछ,” उनले भने।
घरेलु तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत पुलचोक, पटनेरी, नवदुर्गा, समूह आमा मिलन समूह, १५ साल आमा समूह, नौबिसे टोल, नयाँ बस्ती, भण्डारी टोललगायतका स्थानहरूमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीले खेलकुद पूर्वाधार, सडक स्तरोन्नति, युवा रोजगारी र सामाजिक विकासका विषयमा आफ्ना सुझाव राखेका थिए।
कार्यक्रममा बोल्दै रामबाबु भण्डारी ले सचिएको र सुधारिएको कांग्रेस नेतृत्वमा अबको सरकार बन्ने दाबी गर्दै विकास र समृद्धिको नयाँ ढोका खोल्ने उद्घोष गरे। उनले जनताको विश्वास र समर्थनले मात्र समृद्धिको अभियान सफल हुने उल्लेख गरे।
सो अवसरमा महाधिवेशन प्रतिनिधि सुरजंग राणा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङ, क्षेत्रीय सदस्य सनबहादुर गुरुङ, स्थानीय नेतृ चन्द्रावती पौडेल, किरण भण्डारी, बिन्दु भण्डारी, दिलकुमारी गुरुङ, कमल बहादुर गुरुङ, मनसुन गुरुङ, टिका गुरुङ, दयराज भण्डारी, विद्यार्थी नेता रसिसहरी भण्डारी, राजीव भण्डारी र राजन भण्डारीलगायतले उम्मेदवार रानाभाटलाई विजयको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम चिनबहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिएका छन्।
रानाभाटको चुनावी एजेन्डामा लेखनाथ रङ्गशालालाई पूर्णता दिनु मात्र नभई खेल पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्यसमेत समेटिएको छ। स्थानीय स्तरमा खेलकुद पूर्वाधार सुदृढ भए युवा प्रतिभालाई अवसर मिल्ने र क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।






















